काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता उलंघन गरेको भन्दै नेकपा (एकीकृत समाजवादी)लाई तीन दिने स्पष्टीकरण सोधेको छ।
सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा आयोगले यस्तो जानकारी दिएको हो। गत चैत्र २६ गते काठमाडौंमा आयोजित पार्टीको आमसभामा निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने उजुरी आएको उल्लेख गर्दै आधार प्रमाणसहित ३ दिन भित्र चित्तबुझ्दो जवाफ दिन नेकपा –एकीकृत समाजवादी)लाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
त्यसैगरी आयोगले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भएको खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालासँग पनि जवाफ माग गरेको छ।
कोइरालाले सो निर्वाचनमा ६ करोडभन्दा बढि खर्च भएको अभिव्यक्ति दिएका थिए। तर उनले आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्रै उल्लेख छ। त्यसको जवाफ ७ दिन भित्र पनि कोइरालाको ध्यानाकर्षण पनि गराइएको आयोगका प्रवक्ता पौडेलले बताए।