मनाङ- बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन्।
असार एक गतेको बाढीपहिराले क्षति पुर्याएको भौतिक क्षतिको अवलोकन गर्न उनीहरु मनाङ पुगेका हुन्। निरीक्षण टोलीमा प्रचण्ड र भुसालका साथै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायत थिए।
टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेका संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।
विद्युत् प्राधिकरण, सिंचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा उनीहरुले छलफल गरेका थिए।
मर्स्याङ्दी आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिंचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ।