काठमाडौं- सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन संयन्त्रको बैठकले प्रदेश र जिल्लामा गठबन्धन गर्ने सहमति गरी केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक संयन्त्रको आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश र जिल्लाले चैत मसान्तभित्र पाँच दलीय गठबन्धनको बैठक राखेर सहमति कायम गरी केन्द्रमा पठाइसक्नुपर्नेसहित तीन सुझाव शीर्ष नेताहरुलाई दिने निर्णय गरेको हो।
संयन्त्रका सचिव केशवराज जोशीका अनुसार संयन्त्रको बैठकले गठबन्धन दलहरुका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गर्ने सुझाव शीर्ष नेताहरुलाई दिने निर्णय गरेको हो।
सोमबार शीर्ष नेताहरुको बैठक बस्ने भएकोले संयन्त्रका संयोजक पौडेलले उक्त सुझावहरु शीर्ष नेताहरुलाई दिने पनि उनले जानकारी दिए। शीर्ष नेताहरुको बैठकले काग्रेस नेता पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँचदलीय गठबन्धनको तयारी र अनुमगन संयन्त्र गठन गरेको थियो। समितिमा पाँच वटै दलका नेताहरु सहभागी छन्।
गठबन्धनमा रहेका दलहरुले यसअघि नै स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेका छन्। यद्पि केही जिल्लाहरुमा भने स्थानीय नेताहरुले तालमेल नगर्ने घोषणा गर्दै विज्ञप्ति जारी गरिरहेका छन्।
यसअघि सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीमा आउने कुरा भए पनि संयन्त्रको उक्त निर्णयसँगै लोसपाको बाटो बन्द गरिदिएको छ।
