मेरो मुटुमा समस्या भएको कुरा म १६ वर्षको हुँदा पत्ता लाग्यो। त्यो दिन पनि हामी रोमा एकेडेमीमा हरेक साल गरिने स्वास्थ्य परीक्षण गराइरहेका थियौं। एक-डेढ घण्टाभित्र बसिन्छ अनि मैदानतर्फ कुदिन्छ भन्ने सोच लिएर भित्र पसिन्थ्यो सधैँ। कलिलै थियौँ। स्वस्थ अनि फुर्तिला पनि।
योपालि भने मभित्र अनौठो डर पैदा भएको थियो। केही गडबडी छ कि भन्ने आशंका मेरो मनभित्र थियो। विगतका केही हप्तादेखि म चाँडै थाक्न थालेको थिएँ। अलिकति सिँढी चढ्नासाथ मलाई सास फेर्न अप्ठ्यारो हुन थालेको थियो जुन कदापि सामान्य थिएन।
म त्यो दिन ३ घण्टा डाक्टरकोमा बसेँ। मेरो मुटुको धड्कन असामान्य रहेको बताइयो जसलाई डाक्टरी भाषामा ‘एरिदमिया’ भनिँदो रहेछ। मैले डाक्टरलाई के गर्न सकिन्छ भनेर सोधेँ। जवाफमा मैले ६ देखि ८ महिना खेल बन्द गर्नुपर्ने अनिमात्र उनीहरुले केही बताउन सक्ने भने।
अबकुदाई बन्द, तालिम बन्द, फुटबल बन्द। रोमा बन्द। मुटुको धड्कन सुन्नुभन्दा बाहेक अरु केही काम थिएन मेरो। साँच्चै नै! केहि महिना हरेक साँझ मैले मेरो मुटुको गति कति अनियमित छ भनेर जाँच्ने प्रयास गरिरहेँ।
म विस्तरामा ढल्कन्थेँ। सुनसान भएपछि आँखा बन्द गरेर धड्कन गन्थेँ। आफ्नो चिकित्सक आफैँ भएको थिएँ म। आफैलाई जाँच्थेँ।
योपालि भने मभित्र अनौठो डर पैदा भएको थियो। केही गडबडी छ कि भन्ने आशंका मेरो मनभित्र थियो। विगतका केही हप्तादेखि म चाँडै थाक्न थालेको थिएँ। अलिकति सिँढी चढ्नासाथ मलाई सास फेर्न अप्ठ्यारो हुन थालेको थियो जुन कदापि सामान्य थिएन।
मैले चार महिना मेरो मुटुको धड्कन पुनः सामान्य होस् भन्दै प्रार्थना गरेरै बिताएँ। अनि एक दिन अचानक मेरो मुटुको धड्कन असामान्य रुपमा गायब भयो। मैले यति चाँडै ठीक हुन्छु भनेर कल्पना पनि गरेको थिइनँ।
मेरो भ्रम पो हो कि भन्ने पनि सोचेँ। तर मेरो धड्कनसँग अब म अज्ञात हुने सवाल नै थिएन। भोलिपल्ट फेरि धड्कन सुनिहेरेँ। सामान्य नै थियो। ‘एरिदमिया’को कुनै संकेत थिएन।
तेस्रो दिन पनि सामान्य नै थियो। अब म सहजै सिँढी चढ्न सक्ने भएको थिएँ। पहिले त सगरमाथा उक्लेझैँ लाग्थ्यो। चौथो दिन मैले मेरा बुवाआमालाई फोन गरेँ।
अर्को दिन हामी डाक्टरकहाँ गयौँ। डाक्टरले 'तिमी ठीक छौ' भने। महिनौँपछिको पहिलो तालिमका लागि म निकै उत्साहित थिएँ। लाग्दैथियो म नरोकी सधैँ कुदिराख्न सक्छु। एउटा सनो-तिनो देशसँग त एक्लै लड्न सक्छु जस्तो लागिरहेको थियो। शरीर स्फूर्त थियो। कतै दुखाइ थिएन, अप्ठ्यारो महसुस भइरहेको थिएन।
त्यसपछिको पहिलो खेलमा मेरो खुट्टाको औँला भाँच्चियो। म फेरि ६ हप्ताका लागि थन्किने भएँ। यो सब मेरा लागि अपत्यारिलो थियो।
साँचो भन्नुपर्दा औँला भाँचिएको त चाँडै निको भयो। अनि ती ४ महिनामा केहि राम्रा कुराहरु पनि भए मेरो जीवनमा। मेरी श्रीमती भेरोनिकासँग पनि त्यहि समयमा भेट भएको हो। अहिले हाम्रा चार सन्तान छन्।
म आफ्नो कामप्रति पहिलेदेखि नै समर्पित छु। रोमाको युथ टिममा हुँदा हरेक साता म ३ वटासम्म खेल खेल्थेँ। तर यी सबै घटनापछि म हरेक समय, हरेक मिनेट एउटा उत्कृष्ट 'फुटबलर' बन्न तत्पर थिएँ। 'म अझ राम्रो खेल्न सक्थेँ कि, म अझ प्रयास गर्न सक्थेँ कि,' भन्ने सोच मात्र घुमिरहन्थ्यो मेरो मन-मष्तिस्कमा।
किनभने मैले फुटबल बिनाको जीवन कस्तो हुन्छ भनेर थाहा पाइसकेको थिएँ। अझ म त रोमाका लागि खेल्थेँ। तपाईलाई त्यसको अर्थ थाहा छ? सिनेसित्ताजस्तो ठाउँमा हुर्केको बच्चाका लागि त्यसको महत्व थाहा छ? यो कुनै पेशा, जागिर वा मनोरञ्जनको श्रोत थिएन। मेरा लागि रोमा नै सबैथोक थियो।
म पाँच वर्षको हुँदै बुवासँग स्टेडियो ओलम्पिको जान थालिसकेको थिएँ। जहाँ शौचालय जान पनि अरु दर्शकहरुसँग लड्नु पर्थ्यो। त्यहाँ मैले टोटीको खेल हेरेँ। फाबियो क्यापोलो प्रशिक्षक हुँदा स्कुडेट्टोका केहि खेल पनि हेरेँ।
त्यहिँको प्रभावले होला सायद, पहिलो पटक बुट लगाउँदा मलाई दर्शकहरुका माझबाट स्टेडियो ओलम्पिकामा कुद्न मन लागेको थियो।
म आफ्नो कामप्रति पहिलेदेखि नै समर्पित छु। रोमाको युथ टिममा हुँदा हरेक साता म ३ वटासम्म खेल खेल्थेँ। तर यी सबै घटनापछि म हरेक समय, हरेक मिनेट एउटा उत्कृष्ट 'फुटबलर' बन्न तत्पर थिएँ। 'म अझ राम्रो खेल्न सक्थेँ कि, म अझ प्रयास गर्न सक्थेँ कि,' भन्ने सोच मात्र घुमिरहन्थ्यो मेरो मन-मष्तिस्कमा।
म आठ वर्षको थिएँ। एक दिन मेरा बुवाले रोमाले 'मैले खेलेको हेर्न' केहि निरीक्षक पठाएको छ भन्नुभयो। उहाँ जिस्किएजस्तो लागेको थियो। तर होइन रहेछ। त्यसपछि रोमाको सबैभन्दा युथ टोलीसँग मैले ५ महिना तालिम गरेँ। त्यहाँ पनि सबैभन्दा कान्छो त म नै थिएँ। ट्रिगोरियामा मर्मत कार्य चलिरहेको थियो। त्यसैले मैले लंगारिना धाउनुपर्थ्यो। त्यहाँ पुग्न करिब एक घण्टा लाग्थ्यो।
विद्यालय सकेपछि हतार-हतार खाजा खाएर गाडीमै लुगा फेर्थेँ म। त्यहाँ पुग्नासाथ सोझै मैदानतिर दौडन्थेँ। ओलम्पिको बाहिर त्यहि सबैभन्दा ‘खतरा’ खेलाडीको मैदान प्रवेशको दृश्य हुन्थ्यो। सधैँ म आफ्नो दिल-ज्यान सुम्पन्थेँ फुटबललाई।
चिठी आउँछ कि भन्ने आशमा म सधैँ डाकको बाटो कुर्थेँ। किनकि रोमाले प्रशिक्षणमा सामेल सबैलाई चुनिए-नचुनिएको खबर पत्राचार गरिदिन्थ्यो।
जुलाई महिनाको कुनै दिन मेरो पनि चिठी आयो। बुवाले खोल्न लगाउनुभयो। उहाँलाई चिठीभित्र के छ भनेर थाहा थियो।
तर मलाई थाहा थिएन। पत्र खोल्नासाथ मैले जे देखेँ, जे महसुस गरेँ – त्यो वर्णन गर्नै सकिँदैन। त्यस क्षण मेरो सारा जीवन कुनै चलचित्रमा बदलिएको महसुस गरिरहेको थिएँ म। लाग्दैथियो म मुख्य पात्र हुँ, अनि मेरा सबै सपना एकाएक साँचो भइरहेका छन्।
अब कस्तो यात्रा सुरु हुँदैछ मलाई केहि ज्ञान थिएन। त्यति बेलादेखि मलाई रोमाको सर्ट लाउनासाथ आफूले आफैंलाई नभई आफूभन्दा ठूलो केहि कुराको प्रतिनिधित्व गरेजस्तो लाग्छ। विशेषगरी, रोमाको मुख्य टोलीबाट खेल्दा। मुख्य टोलीसम्मको मेरो यात्रा बिस्तारै अघि बढेको हो। मुख्य टोलीका खेलाडीहरु ‘युथ’ टिमकै नजिक तालिम गर्थे। खेल्दाखेल्दै अर्काको मैदानमै पनि छिरिन्थ्यो। युथ टोलीको मैदान छोडेर मुख्य टिमको मैदान वरपर पुगे त्यसलाई ‘द वाल्क’ भनिन्थ्यो। जुन मैले पनि केहि पटक गरेँ।
मार्च २०१५ मा म्यान्चेस्टर सिटीका बिरुद्ध युथ लीगको ‘क्वार्टरफाइनल’ खेलिरहेका थियौँ। सो खेल ल्याटिनमा भइरहेको थियो। मलाई यो कुरा प्रस्टै याद हुनुमा दुईवटा कारण छन्, पहिलो-मैले प्रशंसनीय गोल हानेँ अनि हामीले खेल जित्यौँ। दोस्रो-मैले पछि थाह पाएँ कि त्यहाँ तत्कालिन प्रमुख ‘कोच’ तथा व्यवस्थापक रुडी गार्सिया पनि उपस्थित रहेछन् अनि उनले म चाँडै मुख्य टोलीबाट खेल्न लायक हुने कुरा भनेका रहेछन्।
त्यसको केहि दिनलगत्तै मलाई मुख्य टोलीबाट खेल्नका लागि बोलाइयो, सेसेनामा। खेलको दिन हामी होटलमा तयारी गरिरहेका थियौँ। खेलाडीहरु निस्किनु भन्दा अगाडि उनीहरुका कोठामा गई सल्लाह-सुझाव दिने बानी थियो रुडीको। त्यो दिन पनि उनी आएका थिए।
खेलाडीलाई खेलमा आ-आफ्नो स्थान र भूमिका अनुसारको सुझाव दिन्थे। कलिला खेलाडीहरुलाई चाहिँ, 'तैनाथ बस्नु, जे पनि हुन सक्छ' भन्थे।
रुडी बाठा मान्छे हुन्। नयाँ खेलाडीले खेल्ने मौका नपाउने लगभग निश्चित नै हुन्थ्यो, तैपनि रुडीले उनीहरुलाई ध्यान-केन्द्रित, फुर्तिलो र तयार रहन लगाउँथे। म पनि त्यो दिन नयाँ खेलाडी नै थिएँ।
तर त्यो दिन रुडीले मलाई त्यस्तो भनेनन्। 'तयार बस, किनभने आज...' उनले यति मात्र भने। म तुरुन्तै चिन्तित भएँ। चिन्तित अनि उत्साहित। मेरो काँधमा जिम्मेवारीको बोझ थपिएजस्तो लागिरहेको थियो। यो असली रोमा थियो। अब म टीमका लागि खेल्न सक्थेँ। र त्यस्तै भयो पनि।
त्यसको केहि दिनलगत्तै मलाई मुख्य टोलीबाट खेल्नका लागि बोलाइयो, सेसेनामा। खेलको दिन हामी होटलमा तयारी गरिरहेका थियौँ। खेलाडीहरु निस्किनु भन्दा अगाडि उनीहरुका कोठामा गई सल्लाह-सुझाव दिने बानी थियो रुडीको। त्यो दिन पनि उनी आएका थिए।
दोस्रो हाफको सुरुवातमा रुडीले मलाई ‘वार्म अप’ गर्न भने। हामी १-० ले अगाडि थियौँ। मैले बच्चैदेखि मान्दै आएका खेलाडी डेनियल डी रोस्सीको गोलले हामी अगाडि थियौँ।
यो कुनै मैत्रीपूर्ण खेल थिएन। हामीले पछिल्ला ५ वटा लिगमा कुनै पनि खेल जितेका थिएनौँ। ३ अंकको जरुरत थियो। तर मलाई अलिकति पनि डर लागेको थिएन। मलाई मैदानमा बोलाइना साथ मेरो दिमाग स्वचालित नै भयो। जर्सी भिरेँ, प्याड लगाएँ अनि मैदानमा कुदेँ।
रोमाको खेलाडीका रुपमा मैदानमा पाइला टेक्नासाथको अनुभूतिको कुनै व्याख्या छैन। ती सुनौला २३ मिनेटमा मैले मेरो जीवनको पछिल्लो १० वर्षको स्मृतिको ‘फ्ल्यासब्याक’ देखेँ।
अचानक म ओलम्पिकोमा मेरा बुवासँग थिएँ, हप्ताको तेस्रो खेल खेलिरहेको। फेरि म मेरो हृदयको ढुकढुकी चेक गरिरहेको थिएँ। अनि फेरि म मेरा बुवाआमासँग भिया दि त्रिगोरियामा हिँडिरहेको थिएँ।
रोमाको खेलाडी बन्ने सपनाको गाँठो मैले सानैदेखि कसेको थिएँ। अहिले अन्ततः म प्रसिद्ध जर्सी लाएर कुदिरहेको थिएँ। कति सुन्दर !
मलाई अवसर दिएकोमा म रुडीप्रति सधैँ आभारी रहनेछु। उनी र मबीच सधैँ सम्मान र सद्भाव कायम रह्यो र अहिले पनि हाम्रो सम्बन्ध उस्तै छ। तर त्यतिबेला म मुख्य टोलीबाट खेल्न तयार थिइनँ। अनि म सन् २०१५ मा २ वर्षका लागि लोनमा सासुओलो गएँ। घरबाट टाढा म पहिलो पटक निस्केको थिएँ।
फर्केर आउँदा म परिपक्व मात्र नभई रोमाको जिम्मेवारी बहन गर्न पनि सक्षम भएको थिएँ। महान् क्लब, महान् सहर, महान् इतिहास। यसको वरीपरी तपाईले आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ। छुट्टै अनुशासनको खाँचो पर्छ। त्यो नभए अर्को विकल्प छ– अलविदा।
क्लबका लागि मेरो सबैभन्दा गर्वशाली समय भनेको सन् २०१७-१८ ताकाको च्याम्पियन्स लिग हो। केहि भिन्न गर्न सकिन्छ भन्ने कुराको भान सुरुबाटै भइरहेको थियो। किनभने हामीले समूह चरणमा एट्लेटिको मड्रिड, काराब्याग र चेल्सीलाई हराइसकेका थियौँ। क्वार्टरफाइनलमा बार्सिलोनासँग ४-१ को हार व्यहोर्नुपर्दा पनि अलिकति आशा बाँकी थियो। ४-० भएको भए त आश गर्ने स्थानमै हुने थिएनौँ हामी। तर, ४-१ को अर्थ हामीले अझै ‘दम’ तोडेका थिएनौँ।
फर्केर आउँदा म परिपक्व मात्र नभई रोमाको जिम्मेवारी बहन गर्न पनि सक्षम भएको थिएँ। महान् क्लब, महान् सहर, महान् इतिहास। यसको वरीपरी तपाईले आफूलाई व्यवस्थित गर्न सक्नुपर्छ। छुट्टै अनुशासनको खाँचो पर्छ। त्यो नभए अर्को विकल्प छ– अलविदा।
अर्को सातासम्म हामीलाई के भयो थाहा छैन तर हामीलाई आउँदो खेलको नतिजा थाहा थियो। मैले बढाइ-चढाइ गरेको होइन। सबैको मुखमा रोमा-बार्सिलोना थियो। बार्सिलोनासँग मेस्सी थिए। बार्सिलोनालाई जित्न गाह्रो थियो।
व्याख्या गर्नै नसकिने खालको अनौठो थियो त्यो दिन। लाग्थ्यो हावामा कुनै रोमन जादु छ।
सबैजनामा एकै खालको सकरात्मक उर्जा थियो, मनोलसबाहेक। ऊ यस्तै थियो। हामी सबै विश्वासको भावना बोकेर हिँडिरहेका बेला ऊ भने 'हामी बर्बाद भयौँ' भन्दै थियो। तर, सबै कुरा ठीकै भइरहेको थियो। खेलको छैठौँ मिनेटमा एडिनको गोलले हामी अघि बढ्यौँ। डेनियलले दोस्रो गोल हानेपछि पुरै ओलम्पिको उर्लियो। अब तेस्रो गोल कसले हान्छ भन्ने कुरामात्र थियो मेरो दिमागमा।
आठ मिनेटमात्र बाँकि छँदा तेस्रो गोल हानेर हाम्रो अपेक्षित नतिजा कसले हासिल गर्यो त? को ‘हिरो’ बन्यो त? मनोलस। यी कुराचाहिँ प्रस्टै याद छ, बाकिँ के-के भयो धमिलिए।
त्यो जादुमयी आनन्दसँग अलिअलिमात्र मेल खाने घटना डेसेम्बर सन् २०१९ को छ। इन्टरसँगको खेल थियो, सानसिरोमा। मैले रोमाको कप्तानका रुपमा खेलेको पहिलो खेल। मैदानमा त्यो दिनजति गर्वान्वित म कहिले भएको छैन। क्लब र सहर दुवैका लागि गर्वका पात्र फ्रान्सेस्को र डेनियलका पाइला पछ्याइरहेको थिएँ।
आज पनि म कप्तानको चिन्ह बोकेर ओलम्पिकोका सिढिँ चढिरहँदा मलाई सपनाझैँ लाग्छ। डर लाग्छ, कतै यो सपना हो अनि म झसङ्ग ब्युझिएँ भने? अहिले हामी विजयी मानसिकताको विकास गर्न मेहनत गरिरहेका छौँ। हाम्रा प्रशिक्षाक माउरिन्हो भन्छन् कि विजयी मानसिकताको विकास नै जितको बलियो आधार हो। यो रातारात त हुँदैन तर मलाई विश्वास छ हामी सहि मार्गमा छौँ। यसका लागि हामी धैर्य र जिम्मेवार हुन आवश्यक छ। धैर्य कसरी भन्दा हामीले मैदानमा अप्ठ्यारा कुराहरु गर्ने कोशिस गर्नुपर्छ। जिम्मेवार कसरी भन्दा हामीले रोमालाई जिताउन मरिमेट्न समेत तयार हुनुपर्छ।
मलाई थाहा छ यो प्रकृयामा मेरो ठूलो भूमिका रहेको छ। फ्रानसेस्कोको कसरी खेल्थे म सोचिरहन्छु। उनी यस्ता कप्तान थिए जसलाई धेरै बोल्न आवश्यक थिएन, उनको खेलाई नै चिच्याइहरेको हुन्थ्यो।
म आफूलाई उनीसँग दाँज्न चाहान्नँ किनभने कोहि उनको स्तरको नजिक पनि आउन सक्दैन। तर म पनि चाहान्छु कि उनका केहि गुण आफूमा आउन्।
यी कुराहरुसँगै म सबैलाई रोमाको महत्त्व पनि बुझाउने प्रयास गर्छु। हरेक दिन म मेरा खेलाडी साथीहरुलाई दर्शक, सहर र अरु सबका लागि यो क्लब के हो बुझाउन खोज्छु। यो कुनै प्रतिभाको उद्योग होइन।
अझ महान क्लब छिर्नु अगाडिको बिसौनी होइन रोमा। ‘अनि के हो त रोमा?’ भन्ने प्रश्न उठ्ला। सर्वोत्कृष्ट र सरल भाषामा भनौँ भने, रोमा भनेको... रोमा हो।
(द प्लेयर ट्रिब्युनमा प्रकाशित सामग्री नेपाल समयका विनायक कार्कीले भावानुवाद गरेका हुन्।)