काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले तत्कालीन केपी ओली नेतृत्वको सरकारले कामै नगरेको आरोप लगाएका छन्। राजधानीमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो आरोप लगाएका हुन्।
ओली सरकारले ठूलो अवसर गुमाएको उनको भनाइ थियो।
‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ। तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने।
ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको र त्यो क्रम उनी सत्ताबाट हटेपछि पनि जारी रहेको उल्लेख गरे। ओलीले विदेशीहरूसँग साँठगाँठ गरेको र देशले दुख पाएको उनको ठहर छ।
‘ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे। त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन,' पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले थपे, 'प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ। त्यो पनि छैन। गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ।’