काठमाडौं- धादिङमा रहेका सत्तारूढ गठबन्धनका दलहरूले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन्।
शुक्रबार गल्छीमा बसेको जिल्लास्थित गठबन्धनका दलहरूको संयुक्त बैठकले जिल्लामा रहेका १३ वटा स्थानीय तह, १ सय ४ वडा र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गर्दै निर्वाचन सफल बनाउने निर्णय गरेको बैठकमा सहभागी जनता समाजवादी पार्टीका नेता राजु नेपालले जानकारी दिए।
स्थानीयत तहमा चुनावी तालमेलका लागि १३ वटै स्थानीय तहमा नेपाली कांग्रेसको पालिका सभापतिको अध्यक्षतामा संयुक्त संयन्त्र निर्माण गर्ने निर्णय भएको नेता नेपालले जानकारी दिए। बैठकले गठबन्धनको मर्म र भावना अनुरूप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ।
तालमेलमा भागबण्डाका लागि दलगत वस्तुस्थितिका बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट २/२ जना प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने सहमति पनि दलहरूबीच बनेको छ। बैठकले गठबन्धन दलहरूबीच हार्दिकता कायम गर्न एकअर्काविरुद्ध आक्षेप नलगाउने र गठबन्धन दलबीच नेता कार्यकर्तालाई पार्टीमा प्रवेश नगराउने निर्णय गरेको छ।
बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरू सहभागी थिए। गठबन्धनको कार्यदलको सचिवाल जिल्ला सदरमुकाम धादिङबेसीमा राख्ने सहमति भएको छ।