काठमाडौं- नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
हालसम्म ६ हजार मतगणना हुँदा अध्यक्षमा घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन्। प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन्।
नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार काठमाडौं केन्द्रको अब १ हजार ३०० मतगणना गर्न बाँकी छ। शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले ३ हजार १७५ मत पाउँदा प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २ हजार ३४५ मत पाएका छन्। कोषाध्यक्ष भरतबहादुर राउतले ३ हजार ४७५ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले २ हजार १८८ मत प्राप्त गरेका छन्।
मंगलबार बिहानदेखि मतगणना सुरु भएको थियो। आज बिहान ९ बजेबाट पुनः मतगणना प्रारम्भ गरिने छ भने अन्तिम नजिता पनि आउने छ।
बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए। तीमध्ये ७ हजार ४२९ मत खसेको थियो।