महोत्तरी- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले मधेश प्रदेशमा चुनावी तालमेल नमान्ने भएको छ। बिहिबार बसेको समूहको बैठकले मधेस प्रदेशमा गठबन्धनका नमान्ने निर्णय गरेको हो।
कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्नेमा शेखर समूहले जोड दिएको छ। ‘गठबन्धन गर्ने भएपनि निर्णय गर्ने अधिकार तल्लो तहलाई दिइनुपर्छ,’ बैठकमा सहभागि नेता विनोद खनालले भने।
बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष समेत निकालेको छ । बैठकमा ८ वटै जिल्लाका शेखर समूह निकट नेताहरुले संस्थापन पक्षले अन्याय गरेको बताएका छन्।
चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ। ‘हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,’ प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेता रामसरोज यादवले भने।