बिहीबार, वैशाख २०, २०८१

भारतीय राजदूतका लागि यसरी 'करिअर मुकाम' बन्दैछ लैनचौर

नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै भारतले नेपाललाई उच्च महत्व दिँदै आएको र भारतको राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिहरु नै नेपालमा राजदूतको रुपमा आएको पाइन्छ। नेपालका लागि भारतीय राजदूत भएका क्‍वात्रासहित तीन जना कूटनीतिज्ञ भारतको विदेश सचिव बनेका छन्।
 |  मंगलबार, चैत २२, २०७८

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

मंगलबार, चैत २२, २०७८

काठमाडौं- सन् १९८८ देखि कूटनीतिक सेवामा प्रवेश गरेका नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा विदेश मन्त्रालयको सचिवमा नियुक्त भएका छन्। यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा काम गरिसकेका क्‍वात्रा सन् २०२० मा नेपालका लागि राजदूतमा नियुक्त भएका थिए।

triton college

क्‍वात्राले सन् २००३ देखि २००६ सम्म बेइजिङको डेप्युटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए। सन् २००६ देखि २०१० सम्म सार्क सचिवालयमा भारतको प्रतिनिधिको रुपमा काम गरे। २०१० देखि २०१३ सम्म उनले अमेरिकास्थित भारतीय दूतावासमा रहेर काम गरेका थिए। यस क्रममा संयुक्त राज्य अमेरिका र क्यानडासँग भारतको सम्बन्ध विस्तारको क्षेत्रमा उनको भूमिका महत्वपूर्ण रहेको मानिन्छ। २०१३ को जुलाइदेखि २०१५ अक्टोबरसम्म क्वात्राले विदेश मन्त्रालयको नीति योजना र अनुसन्धान विभाग साथै विदेश मन्त्रालयस्थित अमेरिका डिभिजनको प्रमुखको रूपमा काम गरेका थिए।

त्यसैगरी सन् २०१५ देखि २०१७ सम्ममा क्‍वात्राले भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवको रुपमा काम गरेका थिए। त्यसलगत्तै उनले सन् २०१७ देखि २०२० सम्म फ्रान्सको राजदूतको रुपमा काम गरेका थिए।

आफ्नो विदेश सेवामा रहेको करिअरको उच्चतम बिन्दुमा पुगेको समयमा नेपालको राजदूत भएका क्‍वात्रालाई भारत सरकारले सोमबार विदेश सचिवमा नियुक्त गरेको हो।

भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले ३० अप्रिल २०२२ मा अवकाश पाउने भएपछि क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरिएको भारत सरकारको क्याबिनेट मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालमा रहँदा पनि उनी कुनै विवादमा तानिएनन् भने सरल रुपमा रहेको र द्विपक्षीय सम्बन्धमा विश्‍वासको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको कूटनीतिज्ञहरुले बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ दिल्ली गएका क्‍वात्रा नेपाल फर्किएका छैनन्।

नेपाल बसेर भारतको विदेश सचिव हुने क्‍वात्रा तेस्रो राजदूत

corrent noodles
Metro Mart

नेपाल र भारतबीच उत्कृष्ट ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्बन्ध सदियौंदेखि घनिष्ट, व्यापक र बहुआयामिक छ। यससँगै उत्कृष्ट द्विपक्षीय ऐतिहासिक सम्बन्धलाई औपचारिक स्वाद थप्‍न दुई मुलुकका बीचमा १७ जुन १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो। हालसम्म २५ जना राजदूतहरु नियुक्त भएका छन्।

नेपाल र भारतबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालका लागि पहिलो भारतीय राजदूतको रुपमा सुर्जित सिंह मजिथिया काठमाडौं आएका थिए। उनले सन् १९४७ देखि १९४९ सम्म नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरे। नेपालको राजदूतबाट बिदा भएपछि उनी सन् १९५२ को लोकसभामा पहिलो पटक विजयी भएका थिए भने १९५७ मा दोस्रो पटक विजयी भए। पहिलो पटक लोकसभामा निर्वाचित भएसँगै सन् १९५२ देखि ६२ सम्म एक दशक भारतको रक्षा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

नेपाल-भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै भारतले नेपाललाई उच्च महत्व दिँदै आएको र भारतको राजनीतिक र कूटनीतिक क्षेत्रमा प्रभाव पार्न सक्ने व्यक्तिहरु नै नेपालमा राजदूतको रुपमा आएको पाइन्छ। नेपालका लागि भारतीय राजदूत भएका क्‍वात्रासहित तीन जना कूटनीतिज्ञहरु भारतको विदेश सचिव बनेका छन्।

भारतका लागि नेपालको राजदूत भइसकेपछि विदेश सचिवको जिम्मेवारी पाउने क्‍वात्रा तेस्रो व्यक्ति हुन्। भारतको इतिहासमा पहिलो पटक महाराजा कृष्ण राजगोत्रलाई भारत सरकारले सन् १९७३ देखि ७६ सम्म नेपालका लागि राजदूतको पठाएको थियो। सन् १९८२ मा उनी भारतको विदेश सचिवको रुपमा नियुक्त भएका थिए। भारतको विदेश सचिवको रुपमा उनले सन् १९८५ सम्म काम गरेका थिए। विदेश सचिव हुनुभन्दा अघि उनले फ्रान्सको राजदूतको रुपमा जिम्मेवारी सम्हालेका थिए।

त्यसैगरी सन् २००२ को अक्टोबरमा श्याम शरणलाई भारतले राजदूतको रुपमा पठाएको थियो। करिब तीन वर्ष नेपालमा बिताएका उनी सन् २००४ मा बिदा भए। २५ जुलाई २००४ मा राजदूतबाट बिदा भएका उनले ३१ जुलाईदेखि भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका थिए। नेपालको राजदूत हुनुभन्दा पहिले उनी म्यानमार र इन्डोनेसियाको राजदूतको रुपमा काम गरेका थिए भने विदेश सचिवबाट अवकाश पाएपछि राष्ट्रिय सुरक्षा सल्लाकारको रुपमा काम गरे।

नेपालमा आएका कूटनीतिज्ञहरु भारतको कूटनीतिक तथा ब्युरोक्रेसीको उच्च तहमा पुग्‍नुले भारतले नेपाललाई उच्च प्राथमिकतामा राखेको उदाहरण भएको त्रिभुवन विश्‍वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक डा. खड्ग केसी बताउँछन्। उनले भने, 'वास्तवमा करिअरको उत्कर्षमा पुगेका मानिसहरुलाई भारतले नेपाल पठाउने गरेको देखियो। जसको पछिल्लो उदाहरण क्‍वात्रा नै हुन्।'

नेपालमा आउने भारतीय राजदूतहरु पहिलो क्याटेगोरीका नहुने भन्‍ने तर्कहरु गलत भएको उनको बुझाइ छ। उनले थपे, 'नेपालमा पठाइएका कूटनीतिज्ञहरु पहिलो क्याटेगोरीका नहुने भन्‍ने कुरा हामी सुन्छौं। तर, भारतको सन्दर्भमा कतिपय भारतीय राजदूतका उदाहरण हेर्दा नेपाल आउँदा करिअरको उत्कर्षमा पुगेको मान्छे आउन खोज्‍ने र भारतले पनि सबै कुरा जानेको र भूराजनीति बुझेको व्यक्तिलाई पठाउने गरेको कुरालाई पनि हामीले ख्याल गर्नुपर्छ।'

नेपाल बसेर फर्किएपछि गभर्नरदेखि मन्त्रीसम्म

नेपालमा राजदूतको रुपमा काम गरिसकेर फर्किएका कतिपय कूटनीतिज्ञ गभर्नर र मन्त्रीसम्म भएका छन्। सन् १९४९ मा लामो समय शिक्षा क्षेत्रमा बिताएमा सीपीएन सिंहलाई जवाहरलाल नेहरुलाई नेपालको राजदूतको रुपमा नियुक्त गरेका थिए। सिंह नेपालका लागि दोस्रो भारतीय राजदूत हुन्। सन् १९५२ सम्म नेपालको राजदूतको रुपमा काम गरेका सिंह पछि एकीकृत पञ्‍जाबको गभर्नरमा नियुक्त भए। नेहरुका निकट मित्रसमेत रहेका सिंह उत्तर प्रदेशको गभर्नरसमेत बनेका थिए। सन् १९५८ मा उनलाई भारत सरकारले जापानका लागि राजदूत पठाएको थियो।


 


सन् १९६४ देखि ६७ सम्म नेपालका लागि श्रीमन नारायणले राजदूतको रुपमा जिम्मेवारी सम्हाले। नेपालको राजदूतबाट बिदा भएसँगै उनले सन् १९६७  देखि ७३ सम्म गुजरातको गभर्नरको रुपमा काम गर्ने अवसर पाए।

सन् १९६८ देखि ७१ सम्म नेपालका लागि राजदूतको रुपमा भारतले पूर्वमन्त्रीलाई पठाएको थियो। भारत स्वतन्त्र भएपछि पहिलो पर्यटनमन्त्री बनेका राजबहादुर सन् १९५२ देखि ६७ सम्म लगातार तीन कार्यकाल लोक सभा सदस्यमा विजयी भएका थिए। यसअवधिमा उनले सञ्‍चार, यातायात र पर्यटनमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए। नेपालबाट बिदा भइसकेपछि पनि उनी १८ मार्च १९७१ मा पनि उनी संसदीय मामिला, सिपिङ र यातायातमन्त्री बनेका थिए।


 


सन् १९७१ देखि १९७३ सम्म एलपी सिंहले राजदूतको रुपमा जिम्मेवारी सम्हाले। उनी नेपालको राजदूतबाट बिदा भइसकेपछि लगातार आसाम, मनिपुर, मेघालय, नागाल्याण्ड र त्रिपुराका गभर्नरको रुपमा नियुक्त भएका थिए।

सन् १९८६ मा भारत सरकारले नेपालका लागि राजदूतको रुपमा लेफ्टिनेन्ट जनरल श्रीनिवास कुमार सिन्हालाई नियुक्त गरेको थियो। सन् १९४३ देखि ८३ सम्म भारतीय सेनाको उच्च ओहदामा रहेर काम गरेर सिन्हा नेपालका लागि भारतीय राजदूत भएर आउने पहिलो भारतीय सेनाका कमाण्डर हुन्। नेपालमा राजदूतको रुपमा काम गरेर बिदा भइसकेपछि सन् १९९७ मा उनलाई भारत सरकारले आसामको गभर्नरको रुपमा नियुक्त गरेको थियो भने सन् २००३ मा जम्मु काश्‍मीरको गभर्नरको रुपमा उनले काम गरे।

भारतीय कूटनीतिज्ञको प्राथमिक रोजाइमा नेपाल नै किन?

आफ्नो करिअरको उच्चतम बिन्दुमा पुग्‍नुअघि भारतीय कूटनीतिज्ञहरुले नेपाल रोज्‍ने गरेको र भारतले पनि नेपालमा परिपक्‍व व्यक्तिलाई नै पठाउने गरेको उदाहरण माथिका नियुक्तिहरुले पनि प्रष्ट पारेको छ। यसबाहेक नेपालको भूराजनीतिक अवस्थिति, खुला राजनीति, शक्ति केन्द्रसँगको सम्बन्ध, शक्ति संघर्ष र उत्तरी छिमेकी चीन नै मुख्य कारणहरु रहेको प्राध्याक केसी बताउँछन्।


 


उनले थपे, 'नेपाल भारतको प्रतिद्वन्द्वी मुलुक चीनको काखमा रहनु नै यसको मूल कारण हो। यसबाहेक नेपालमा देखिएको राजनीतिक खुलापन र आन्तरिक व्यवस्थापनमा भारतीय कूटनीतिज्ञले खेल्ने भूमिका र शक्ति संघर्षमा आफूलाई थप निखार्ने अवसर प्राप्त हुने भएका कारण पनि कूटनीतिज्ञ र भारतको रोजाइमा नेपाल परेको देखिन्छ।'

राजदूत क्‍वात्रामात्र नभएर यसअघि नेपाल आएका राजदूतहरुको प्रोफाइल र उनीहरुको नियुक्तिले पनि नेपाल भारतको निकै प्राथमिकतामा रहेको भन्‍ने छनक दिएको केसीले बताए। उनले भने, 'क्‍वात्राको त प्रमोट हुने समय आएको थियो भने पनि त्यसअघिका अन्य पात्रहरुको प्रोफाइल र उनीहरु नेपाल आउनुअघि र नेपालपछि भएका नियुक्तिहरुले पनि भारतको रोजाइमा नेपाल पहिले नै परेको भन्‍ने थाहा हुन्छ।'


 



बाबुछोरा नै नेपालको राजदूत

भारतका दुई कूटनीतिज्ञ बाबुछोरा नै नेपालको राजदूतमा नियुक्त भएका छन्। सन् १९९१ मा भारत सरकारले प्राध्यापक विमल प्रसादलाई नेपालको राजदूतको रुपमा नियुक्त गरेको थियो। उनले सन् १९९५ सम्म नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरे।

उनले लामो समयदेखि दक्षिण एसिया विज्ञको रुपमा विभिन्‍न लेख तथा जर्नलहरु प्रकाशित गर्ने गरेका थिए। पटना विश्‍वविद्यालयका इतिहास र जवाहरलाल नेहरु विश्‍विद्यालयको दक्षिण एसियाली अध्ययनका प्राध्यापकको रुपमा काम गरेका उनी पछि अन्तर्राष्ट्रिय अध्ययन विभागको डिनको रुपमा काम गरेका थिए। उनलाई आफ्नो कार्यकालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले राजदूतको रुपमा नियुक्त गरेका थिए।

विमल प्रसाद नेपालबाट बिदा भएको करिब १६ वर्षपछि उनका छोरा जयन्त प्रसादलाई भारत सरकारले नेपालको राजदूतको रुपमा नियुक्त गरेको थियो। जयन्त प्रसादले सन् २०११ देखि २०१३ सम्म नेपालमा रहेर राजूदतको रुपमा काम गरेका थिए। त्यसअघि जयन्तले जेनेभास्थित राष्ट्रसंघमा रहेर भारतका लागि स्थायी सदस्यको रुपमा काम गरिसकेका थिए भने अल्जेरियाको राजदूतको रुपमा पनि काम गरेका थिए। सन् २००८ देखि २००९ सम्म उनी अफगानिस्तामा रहेर काम राजदूतको जिम्मेवारी सम्हालेका थिए।

अन्य कोको थिए भारतका लागि नेपाली राजदूत?

नेपालका लागि भारतको तेस्रो राजदूतको रुपमा बिके गोख्‍लेले काम गरेका थिए। उनी सन् १९५२ देखि ५४ सम्म नेपालमा रहे। त्यसैगरी सन् १९५४ देखि १९५९ सम्म नेपालका लागि भगवान सहायले राजदूतको रुपमा काम गरे। उनी राजा महेन्द्रका विश्‍वास पात्र पनि मानिन्थे।।
सन् १९६० देखि १९६४ सम्म नेपालका लागि भारतीय राजदूतको रुपमा हरिश्‍वर दयालले काम गरे। ४९ वर्षको उमेरमा नै उनको मृत्यु भयो। सन् १९६४ मेमा सगरमाथाको खुम्बु क्षेत्रमा उनको मृत्यु भएको थियो।  

सन् १९७६ देखि १९७९ सम्म एनबी मेनन राजदूतमा नियुक्त भए। उनले शिक्षा क्षेत्रमा काम गरेका थिए। नेपालमा रहेको मोडर्न इण्डियन स्कुल स्थापना उनकै पालामा गरिएको थियो। सन् १९७९ देखि १९८२ सम्म एनपी जयन, सन् १९८३ देखि ८६ सम्म एचसी सरिन र सन् ९८६ देखि ८९ सम्म एआर देओले राजदूतका रुपमा काम गरेका थिए। एचसी सरिन भारतको पूर्व रक्षा सचिव हुन् भने एआर देओ नेपालपछि हंगेरीको राजदूत बनेका थिए।


 


सन् १९९५ देखि २००० सम्म केभी राजनले भारतका लागि नेपाली राजदूतको रुपमा काम गरेका थिए। उनी त्यसअघि अल्जेरियाका राजदूत थिए। सन् २०० देखि २००१ सम्म देव मुखर्जी राजदूत बनेका थिए। पछि देव मुखर्जीलाई भारतले बंगलादेशको राजदूतको रुपमा नियुक्त गरेको थियो। सन् २००१ देखि २००२ सम्म आईपी सिंह नेपालको राजदूत रहेका थिए। सन् १९९२ मा भारतीय राष्ट्रिय कांग्रेसको महासचिव भइसकेका उनी सन् १९९५ मा भारतीय जनता पार्टीमा सामेल भएर विदेश विभाग सम्हालेका थिए।

यसबीचमा श्याम शरण नेपालको राजदूत बने भने त्यसपछि शिव शंकर मुखर्जीलाई नेपालका लागि राजदूतको जिम्मेवारी दिइएको थियो। शिवशंकर मुखर्जीले सन् २००४ देखि २००८ सम्म नेपाल रहेर काम गरेका थिए। उनले सन् २००८ देखि २००९ सम्म बेलायतका लागि उच्चायुक्तका रुपमा काम गरेका थिए।

सन् २००८ देखि २०११ सम्म राकेश सुदले नेपालमा राजदूतको रुपमा काम गरे। नेपाल आउनुअघि अफगानिस्तान बसेका सुद नेपालको कार्यकाल सकेपछि राष्ट्रसंघीय मिसनमा स्थायी प्रितिनिधिको रुपमा काम गरेका थिए। पछि वाशिङ्टन डीसीको डेप्युटी चिफ अफ मिसनको रुपमा कार्यभार सम्हालेका थिए।

सन् २०१३ देखि २०१७ सम्म रञ्‍जित रे र सन् २०१७ देखि २०१९ सम्म मञ्जिवसिंह पुरीले नेपालमा रहेर भारतीय राजदूतको रुपमा काम गरे। सन् २०२० देखि हालसम्म विनय मोहन क्‍वात्राले राजदूतको रुपमा काम गरेका हुन्।

प्रकाशित: Apr 05, 2022| 07:56 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...