बिहीबार, वैशाख २०, २०८१

मोदीसामु सीमाबारे बोलेका देउवाको भ्रमण कति सफल?

करिब चार वर्षपछि प्रधानमन्त्री तहमा भएको पहिलो भारत भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा विषयमा वार्ताको टेबलमा आउन तयार बनाएका हुन्।
 |  सोमबार, चैत २१, २०७८

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, चैत २१, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तीन दिने भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री डा. नारायण खड्काले विमानस्थलमा सञ्‍चारकर्मीहरुसँग कुरा गर्दै भने, 'दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको छ। दुई देशबीच स्थापित संयन्त्रहरूमार्फत सीमासम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने सहमति भएको हो।'

triton college

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीसामु बोल्दै भनेका थिए, 'हामीले सीमाका विषयमा कुराकानी गरेका छौं। मैले मोदीजीलाई द्विपक्षीय संयन्त्र बनाएर यसलाई समाधान गर्न आग्रह गरेको छु।'

करिब चार वर्षपछि प्रधानमन्त्री तहमा भएको पहिलो भारत भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा विषयमा वार्ताको टेबलमा आउन तयार बनाएका हुन्। विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सीमाको विषय सुन्‍न नै नचाहेको भारतलाई वार्ताको टेबलमा बस्‍नका लागि तयार बनाउनु प्रधानमन्त्री देउवाको कूटनीतिक कौशलता भएको कूटनीतिज्ञहरुले टिप्पणी गरेका छन्। 

दुई प्रधानमन्त्रीको भेटमा भएको कुराकानीबारे जानकारी गराउँदै भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले भनेका थिए, ‘सुरक्षा र सीमाको विषयमा कुरा भएको छ। सामान्य बुझाइ के हो भने दुवै पक्षले यसलाई जिम्मेवारीपूर्ण ढंगले यस विषयमा छलफलहरु हाम्रो निकट र मित्रवत सम्बन्धको हुनुपर्छ। यसलाई राजनीतिक विषय बनाउने कामबाट बच्नु पर्छ। यसलाई संवादको माध्यमबाट समाधान गर्नुपर्छ।’

भारतीय कूटनीतिज्ञ अतुल अनेजाले विगतमा बंगलादेशसँग रहेको सीमा विवाद समाधान गरेसँगै भारतले नेपालसँगको सीमा समस्या समाधान गर्न अग्रसरता देखाउनु निकै सकारात्मक भएको बताएका छन्। 

उनले प्रधानमन्त्री देउवाको भ्रमण निकै राम्रो दिशामा गएको संकेत गर्दै भने, 'जति विषयहरु आएका छन् जुन सकारात्मक रचनात्मक एजेन्डामा रहेका छन्। यति धेरै विषयहरु कभर भएको छ। दुवै देशका जनताको फाइदाका लागि धेरै विषयहरु रहेका छन्। यसमा धेरै लाभ प्राप्त हुन्छ।’

corrent noodles
Metro Mart

भारतीय कूटनीतिज्ञहरुलेसमेत प्रधानमन्त्री देउवाको भ्रमणका सफल भएको बताएका छन्। भारतीय कूटनीतिज्ञ तथा नेपालका लागि भारतीय पूर्वराजदूत रञ्‍जित रेले प्रधानमन्त्री देउवाको भारत भ्रमण फलदायी र दुई मुलुकबीचको हितमा केन्द्रित भएको बताएका छन्। उनले स्टार्ट न्यु ग्लोबलका सूर्य गंगाधरणसँगको कुराकानीमा भने, 'नेपालका प्रधानमन्त्रीहरुले यसअघि  भारत भ्रमण गरे पनि सीमा समस्याका विषयमा खुलेर कुरा गर्न सकेका थिएनन्। तर, अहिले प्रधानमन्त्री देउवाले खुलेर मोदीसँग कुरा गरेका छन् र यसलाई द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिनुपर्ने सहमति भएको छ। यो भारतका लागि पनि सकारात्मक संकेत हो।'

उनले नेपालमा केही नेताहरुले आफूलाई राष्ट्रवादी देखाउन भारतको विरोध गर्ने गरेको र सीमा मुद्दा उठाउने गरेकोसमेत बताएका छन्। उनले थपे, 'नेपालमा केही नेताहरुले आफूलाई राष्ट्रवादी देखाउनका लागि सीमाको समस्यालाई उठाउँदै भारत विरोधी माहोल तयार गर्ने गरेका छन्। यसलाई समाधान गरेको अवस्थामा नेपालमा पनि भारतविरोधी वातावरण रहँदैन। त्यसकारण यसलाई राजनीतिकरण गर्नुभन्दा पनि विभिन्‍न संयन्त्रहरुका माध्यमबाट समाधान गरिनुपर्छ।'

भारतीय कूटनीतिज्ञ अतुल अनेजाले विगतमा बंगलादेशसँग रहेको सीमा विवाद समाधान गरेसँगै भारतले नेपालसँगको सीमा समस्या समाधान गर्न अग्रसरता देखाउनु निकै सकारात्मक भएको बताएका छन्। उनले भने, 'विगतमा भारतको सीमा विवाद बंगलादेशसँग पनि थियो। त्यो जसरी वार्ताबाट समाधान गरियो, अब नेपालसँग पनि त्यसैगरी समाधान गरिनुपर्छ। यसका लागि भारतले देखाएको अग्रसरता निकै सकारात्मक छ।'

नेपाल र भारतबीच भएको सुगौली सन्धी वा अन्य कुनै सम्झौता हेरेर हाम्रो सुमधुर सम्बन्ध कायमै राख्‍ने गरी वार्ता हुन जरुरी रहेको बताएका छन्। उनले थपे, 'नेपाल–भारतबीच भएको सन् १९५०को सन्धिसहित यी दुई देशबीचको सम्बन्धमा चीन फ्याक्टर पनि छ। यी सबै कुरालाई वार्तामा राखेर समाधान खोज्नुपर्छ। हामीले यसलाई समाधान गर्न सफल भयौँ भने नयाँ मोडेल पनि हुनेछ। दक्षिण एसियाकै लागि नमूना हुनेछ।'

प्रधानमन्त्री देउवाले भारतमा सीमाको मुद्दा उठाएसँगै नेपाल र भारतक अधिकारी तथा कूटनीतिज्ञहरुले अब यसलाई धेरै राजनीतिकरण गर्नुभन्दा पनि द्विपक्षीय संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्ने सुझाएका थिए। तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यस मुद्दालाई राजनीतिकरण गर्न सुरु गरिसकेका छन्। एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, 'प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्‍नुभएको भनी सोध्दा जवाफ आएन। आखिर यसकै लागि जानुभएको रहेछ, चुच्चे नक्सा गायब गर्नुपरेको रहेछ। दिल्लीस्थित नेपालको राजदूतावासमा टाँगिएको फोटोमा नेपालको नक्सा बुच्चे नक्सा छ। यसभन्दा राष्ट्रिय दलाली, राष्ट्रको गौरव निहुराउने लज्जाजनक कुरा अरु के हुन्छ?’

ओलीले भनेजस्तो प्रधानमन्त्री देउवालाई भने दूतावासको चुच्‍चे नक्साबारे जानकारी नभएको उनको सचिवालयले जनाएको छ। सचिवालयका ती अधिकारीले दूतावासमा कस्तो नक्सा राखिएको छ भन्दै हर्न जाने कुरा नभएको र त्यहाँ अधिकारीहरुलाई चुच्‍ने नक्सा राख्‍न निर्देशन गरिसकेको बताए। 

सौहार्दपूर्ण सम्बन्ध र विश्‍वासको वातावरण सिर्जना गर्न सफल

प्रधानमन्त्रीको यस भ्रमणलाई भारतसँगको सम्बन्ध बलियो बनाउने कडीकोरुपमा ब्याख्या गरिएको छ। शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भारतीय विदेश मन्त्रालयद्वारा जारी संयुक्त वक्तव्यमा पनि दुवै नेताले दुई देशबीचको भूगोल, इतिहास, संस्कृति, वाणिज्य र जनस्तरको सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरिएको छ।

देउवाभन्दा अघि सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतको जस्तो सम्बन्ध विश्वमा कतै पनि नभेटिने बताएका थिए। उनले भनेका थिए, 'भारत र नेपालबीचको मित्रता, हाम्रा नागरिकबीचको सम्बन्धजस्तो उदाहरण विश्वमै कहीँ देख्‍न पाइँदैन। अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ।'

प्रधानमन्त्री देउवाले भारतमा सीमाको मुद्दा उठाएसँगै नेपाल र भारतक अधिकारी तथा कूटनीतिज्ञहरुले अब यसलाई धेरै राजनीतिकरण गर्नुभन्दा पनि द्विपक्षीय संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्ने सुझाएका थिए।

यसअघि ओली क्याबिनेटका परराष्ट्रमन्त्रीलाई भेट्न नै अस्वीकार गरेका भारतीय प्रधानमन्त्री मोदीले देउवालाई भने भव्य स्वागत गरेका हुन्। कूटनीतिज्ञ डा. दिनेश भट्टराईले प्रधानमन्त्री देउवाको भ्रमणले दुई मुलुकबीच सिर्जना भएको विश्वासको संकटलाई अन्त्य गरेको बताएका छन्। उनले भने, 'यो भ्रमण कुनै निश्‍चित एजेण्डा लिएर तत्काल समाधान गरिहाल्नेभन्दा पनि विश्वासको वातावरण सिर्जना गर्नमा केन्द्रित भएको थियो। जुन सकारात्मक पनि देखिएको छ। पहिलो पटक प्रधानमन्त्री तहमा सीमाको विषयमा कुरा उठेर द्विपक्षीय वार्तामार्फत समाधान गर्ने कुरामा भारत कन्भिन्स भएको छ।'

आगामी दिनमा दुई मुलुकबीच रहेका विभिन्‍न संयन्त्रहरुलाई सक्रिय बनाएर सीमाको मुद्दा समाधानतर्फ ढिलाइ नगरी अघि बढ्नुपर्ने पनि उनले सुझाएका छन्। उनले थपे, 'आफै पूर्ण सफल भयो कि भएन भनेर निर्क्योल गर्ने भन्दा पनि यसलाई कसरी अगाडि बढाइन्छ भन्‍ने कुराले यसको निचोड निस्किनेछ। तर, अहिले जुन जेस्चरमा कुराकानी भएको छ। यो निकै सकारात्मक संकेत हो।' 

२३५ वर्षपछि इतिहास दोहोर्‍याउने अवसर 

नयाँ दिल्लीमा राजनीतिक भेटघाट सकेर नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले धार्मिक कूटनीतिको प्रयोग गरेको भन्दै केही कूटनीतिज्ञहरुले टिप्पणी गरेका छन्। हिन्दुको वकालत गरिरहेका योगी आदित्यनाथले वाराणासीमा प्रधानमन्त्री देउवाको स्वागत गरेका थिए। नेपालमा पनि हिन्दुवादी मतहरु बढिरहेको समयमा भएको प्रधानमन्त्री देउवाको काशी यात्रालाई धार्मिक कूटनीतिको रुपमा अर्थ्याइएको छ। 

प्रधानमन्त्री देउवाले धार्मिक कूटनीतिमात्र नभएर इतिहास दोहोर्‍याउने प्रयास गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। प्रधानमन्त्री देउवाले काशीमा नेपाली मन्दिरसँग सम्बद्ध वृद्धाश्रमको जीर्णोद्धारको शिलान्याससमेत गरेको नवभारत टाइम्सले जनाएको छ। यसअघि १७८४ मा नेपालका तत्कालीन राजा रणबहादुर वीर विक्रम शाहले काठमाडौंको पशुपतिनाथको मन्दिरजस्तै नेपाली मन्दिर र धर्मशालाको शिलान्यास गरेका थिए। यो मन्दिर १७८७ मा बनेर तयार भएको थियो। त्यसको उद्घाटन पनि तत्कालीन राजा रणबहादुरले नै गरेका थिए। त्यसको करिब २३५ वर्षपछि प्रधानमन्त्री देउवाले वृद्धाश्रमको शिलान्यास गरेर इतिहास दोहोर्‍याएको उक्त पत्रिकाले उल्लेख गरेको छ। 

प्रधानमन्त्री देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको उपस्थितिमा वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका हुन्।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्सांकनको काम गरिरहेको छ। 

भाजपा मुख्यालय प्रवेश 

प्रधानमन्त्री देउवा नयाँ दिल्ली अवतरण गरेकै दिन शुक्रबार साँझ भारतको सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष जय प्रकाश नाड्डाको निमन्त्रणामा भाजपाको मुख्यालय पुगेका थिए। त्यहाँ देउवालाई अध्यक्ष नाड्डाले स्वागत गर्दै दुई मुलुकका सत्तारुढ पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने विषयमा छलफल गरेका थिए। 

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै दुई मुलुकका सत्तारुण पार्टीका प्रमुखबीच भेट भएको र यसले दुई मुलुकका राजनीतिक दल र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको जानकारी गराएका थिए। 

तर, केहीले भने प्रधानमन्त्रीको हैसियतमा कुनै मुलुकको पार्टी कार्यालय प्रवेश गर्नु कूटनीतिक प्रोटोकलविपरीतको कदम भएको भन्दै आलोचनासमेत गरेका थिए। 

प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा संयुक्त चेकपोस्ट निर्माणलाई गति दिन र चाँदनी–दोधारामा समेत त्यस्तो चेकपोस्ट निर्माणका लागि सहयोग गर्न आग्रह गरेका छन्।

तर, स्वदेश फर्किने क्रममा यस विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'कांग्रेस सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको हो। त्यसलाई कूटनीतिक मर्यादा विपरीत भन्‍न मिल्दैन। यो कूटनीतिक मर्यादा विपरीत भन्‍ने धारणा ठिक होइन। नेपाली कांग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली कांग्रेस अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। सोही सिलसिलामा भाजपाको मुख्यालय जानुभएको हो।'

अर्का एक कूटनीतिज्ञले नाम नखुलाउने शर्तमा विगतमा चीन भ्रमणका क्रममा केपी ओलीले पनि सीपीईसीको विदेश विभागमा पुगेर प्रशिक्षण दिएको र अमेरिकालेसमेत यस्तो अभ्यास गरेकोले विशेष परिस्थितिमा कूटनीतिकभन्दा पनि राजनीतिक निर्णय गरिएको बताए। उनले भने, 'विशेष परिस्थितिमा कहिले कूटनीतिकभन्दा पनि राजनीतिक निर्णय हाबी हुन जान्छ। दुई मुलुकबीच विश्‍वासको संकट भएको अवस्थामा विश्‍वासको वातावरण बनाउन बल पुगोस् भनेर उक्त कदम चालिएको देखिन्छ। अमेरिकालेसमेत यस्तो अभ्यास गर्ने गरेको छ।' 

चार सम्झौता, तीन पूर्वाधार उद्घाटन

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा विभिन्‍न चारवटा सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसम्बन्धी प्रविधिक सहयोग, पेट्रोलियम पदार्य आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कार्पोरेसनबीच प्रविधि विज्ञता आदानप्रदानसम्बन्धी सम्झौता भएको हो। हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशका प्रतिनिधिमण्डलबीच उक्त सम्झौतमा हस्ताक्षर भएको हो।

संयुक्त पत्रकार सम्मेलन गर्नुअघि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट जयनगर–जनकपुर–कुर्था रेल्वे लाइन उद्घाटन गरेका थिए। दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि जनकपुरमा रेल कुदेको थियो।

त्यस्तै, दुवैले ९० किलोमिटर लामो सोलु करिडोर विद्युत् प्रसारण लाइनको पनि भर्चुअल उद्घाटन गरेका थिए। भारतको एक्जिम बैंकको ऋणमा निर्माण गरिएको प्रसारण लाइनको दिल्लीस्थित हैदराबाद हाउसबाट दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्। सिरहाको मिर्चैयादेखि सोलुको तिङ्लासम्मको ९० किलोमिटर लामो प्रसारण १३२ केभी डबल सर्किट लाइनको निर्माण गत पुसमा सम्पन्न भएको थियो, जसमा ३ सय २ वटा टावर छन्।

भारतले विकास गरेको ‘रुपे’ कार्डको नेपालमा प्रयोगको शुभारम्भ पनि दुवै प्रधानमन्त्रीले गरेका छन्। भारतीय बैंकहरूले भिसा र मास्टर कार्डजस्तै ‘रुपे’ कार्ड जारी गरेका छन्। भारतीय नागरिकले नेपालमा उक्त कार्ड प्रयोग गर्ने बाटो खुलेसँगै नेपालको पर्यटन क्षेत्रलाई टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा भूकम्पपछि भारतको सहयोगमा भइरहेको १ सय ३२ वटा हेल्थपोस्ट पुनर्निर्माणको पनि दुवै प्रधानमन्त्रीले भर्चुअल अवलोकन गरेका थिए।

प्रधानमन्त्री देउवाले भारतीय पक्षलाई सीमा संयुक्त चेकपोस्ट निर्माणलाई गति दिन र चाँदनी–दोधारामा समेत त्यस्तो चेकपोस्ट निर्माणका लागि सहयोग गर्न आग्रह गरेका छन्। यस्तै, थप हवाई रुट उपलब्ध गराउन पनि आफूले भारतलाई आग्रह गरेको प्रधानमन्त्री देउवाले बताएका हुन्। 

त्यस्तै, नेपाल-भारतका लागि महत्वपूर्ण रहेको पञ्चेश्वर परियोजनाको डीपीआर बनाउने विषयमा छलफल भएको छ। यसले धेरै सकारात्मक सन्देश दिएको छ। ग्यास र पेट्रोलियम पदार्थमा भएको सहमति तथा सोलार व्यवस्थामा नेपाललाई समावेश गर्ने कुरा पनि महत्वपूर्ण भएको बताइएको छ। नेपालबाट आउने बिजुलीका लागि बंगलादेशदेखि भुटानसम्म बिक्री गर्ने बाटो खुलेको छ। यो नेपालका लागि ठूलो ‘गेम चेन्जर’को विषय भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित: Apr 04, 2022| 07:42 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...