काठमाडौं- गत बिहीबार नेपाल र पपुवा न्युगिनी (पीएनजी) को खेलमा धेरै चर्चा करण केसीको ह्याट्रिक विकेटले पायो। नपाओस् पनि किन? उनले अहिलेसम्मकै उत्कृष्ट बलिङ जो गरेका थिए।
करणले अन्तर्राष्ट्रिय टी-२० प्रतियोगितामा पहिलो पटक ह्याट्रिक विकेट लिएको भिडियो अहिले सामाजिक सञ्जालमा छरपस्ट भेटिन्छन्। त्यति मात्र होइन, सामाजिक सञ्जालमा अहिले अर्को भिडियोले पनि चर्चा बटुलिरहेको छ।
त्यो हो मोहम्मद आदिल अलामको ‘हेलिकोप्टर सट। भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले क्रिकेटमा बाउन्ड्री प्रहार गर्नका लागि आफ्नो विशेष शैली विकसित गरेका थिए। त्यसलाई पछि हेलिकोप्टर सट भनेर चिनिन थालियो।
त्यस्तै, शैलीको बाउन्ड्री आदिलले बिहीबार कीर्तिपुरको क्रिकेट रंगशालामा प्रहार गरेका थिए। अहिले चर्चा पाएको आदिलको त्यही भिडियोले नै हो। उनलाई पनि त्यो सट खुब मनपर्छ। ‘मैले लगातार तीन छक्का प्रहार गर्दा आफैँलाई मनपरेको चाहिँ हेलिकोप्टर सट नै हो,’ गहिरो हाँसोका साथ आदिल भन्छन्।
त्यसो त मोहम्मद आदिल अलाम नेपाली क्रिकेटमा त्यति परिचित नाम होइन। उनी पछिल्लो समय त्रिवि मैदानमै राष्ट्रिय यू १९ क्रिकेट प्रतियोगिता हुँदा प्रदेश २ को टिमबाट काठमाडौं आइपुगेका थिए।
त्यसपछि उनी बिस्तारै आफ्नो पहिचान छोड्दैछन्। उनले यू–१९ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि उमेर समूहको राष्ट्रिय टिममा प्रतिनिधित्वको अवसर पाएका थिए।
त्यसै सिलसिलामा उनले एसिया कपमा नेपालको यू–१९ टिमबाट बंगलादेश, श्रीलंका र कुवेतविरुद्ध खेलिसकेका छन्। ती खेलमध्ये उनले कुवेतविरुद्ध ४९ रनको सानदार पारी खेलेका थिए। त्यो एकदिवसीय खेलमा उनले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। बंगलादेश र श्रीलंकाविरुद्ध बलिङ गर्दै क्रमशः १ र २ विकेट लिए।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले पनि आदिलको खेलको प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘यो खेलमा दीपेन्द्र र आदिलले जुन तारिकाले खेलको लयलाई कायम राखेका छन्। त्यसले नेपाली टिममा थप हौसला बढेको छ।'
दुबईमा भएको एसिया कपपछि उनले गत महिना नेपालमै भएको प्रधानमन्त्री कप खेलिसकेका छन्। प्रधानमन्त्री कपमा आदिलले पुलिसविरुद्ध ३५ रनसँगै सिरिजमा राम्रो प्रदर्शन गरिरहेका छन्। पाएको अवसरमा बलिङमा पनि चुकेका छैनन्। त्यसैले त राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पुबुदु दाशानायकेको नजरमा पर्न सफल भए। पुबुदुले उनलाई नेपाल, मलेसिया र पीएनजीको टी २० सिरिजका लागि टिममा बोलाएका थिए।
उनी टिममा पर्ने हुन् वा होइनन् भन्ने चाहिँ शंकाको विषय थियो। तर उनले पीएनजीविरुद्ध खेल्ने मौका पाए। अब उनलाई यू १९ को खेलमा गरेको जस्तै प्रदर्शन गर्नुपर्ने छ। र, राष्ट्रिय टिममा पनि आफ्नो पदचाप छोड्नुपर्ने छ। त्यही छोड्ने क्रममा उनले हानेको प्रहार धेरैले मन पराए।
उनी पाँचौँ नम्बरमा मैदानमा पसेका थिए। नेपाली टिमलाई राम्रो फिनिसिङको आवश्यकता थियो त्यतिबेला। मैदानमा जानुअघि उनलाई डिउटी दिइएको थियो कि सुरुमा दुई तीन ओभर लैजाने र ठूला सट खेल्ने। हो पनि, उनले त्यसै गरे।
‘क्रिजमा जाँदा खासै केही सोचेको थिएन। विकेट गएको थियो। खेललाई सामान्य रूपमै लगेँ। पहिलो बलमा असमन्वय भएको थियो। तर त्यसपछि उनले राम्रो प्रदर्शन गरे। अन्तिममा चाहिँ बल पाएँ हाने,’ १८ वर्षे आदिल आफ्नो पहिलो खेलको अनुभव सुनाउँछन्, ‘डेब्युमै यो खाल (राम्रो) को इनिङ हुन्छ भन्नेचाहिँ सोचेका थिएन। तर राम्रो गर्छु भन्ने आशा बोकेर गएको थिएँ। राम्रो पनि भयो।’
खेलको १५औं ओभरमा मैदान पसेका आदिलले १९औं ओभरको पहिलो बलमै लङ अनमा चौका हाने। नेपाली समर्थकको क्रेजलाई आँखै अघि देखिरहेका आदिलले त्यसपछिका तीन छक्का तिनै समर्थकको बीचमा प्रहार गरेका थिए।
त्यही दौरान, डेब्युमा उनले प्रहार गरेका तीन सटले अहिले सामाजिक सञ्जालमा धेरै चर्चा पाए। उनले खेलमा लगातार तीन छक्का प्रहार गरेर नेपाली टिमको फिनिसरमा विकल्पका रूपमा अघि बढ्ने कोसिस गरिरहेका छन्। उनले त्यो बेला सहज बल पाएको र बल कनेक्ट भएकाले हानेको बताएका छन्।
‘तीन छक्कामा मलाई सबैभन्दा मनपरेको चाहिँ हेलिकोप्टर सट नै हो,’ यही प्रशंगलाई सम्झँदै उनले भनेका छन्। तर उनको नेपाली क्रिकेटमा यात्रा लामो छैन। उनले यति चाँडै नेपाली टिममा आउँछु भने सोचेकासमेत थिएनन्। ‘तर मेहेनेत गरिरहेका थिए। अलि चाँडै आएजस्तो लाग्यो,’ उनी भन्छन्, ‘यू १९ बिग सट खेल्न माहिर भनेर चिनिएको थियो। राष्ट्रिय टिममा पनि त्यही पहिचान बनाउन उनलाई दबाब पक्कै हुनेछन्।’
उनले थपे, ‘अलिअली दबाब त थियो नै। तर मेरो अभ्यास नै त्यही प्रकारले भइरहेको हुन्छ। मैदानमा जानेबित्तिकै हान्न मलाई सजिलो लाग्छ। त्यस्तै नै हो।’ त्यसो हो भने मैदान पस्नुअघि टिमले कुन रोल दिएको थियो ? ‘एकछिन खेल्ने। खेललाई दुई तीन ओभर लैजान र हान्ने। टिमले दिएको रोल यो नै थियो। बीचमा गएर अझै राम्रो गर्छु भन्ने चाहिँ लागेको थियो। तर अर्धतक नै चाहिँ सोचेको थिएन।’ उनीसँगै मैदानमा दीपेन्द्र सिंह ऐरी पनि चम्किरहेका थिए। यी दुई खेलाडीले त हो नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा सबैभन्दा धेरै रन बनाएको रेकर्ड राखे। उनीहरूले एक ओभरमा बनाएको रन चाहिँ ३२ हो। एकै ओभरमा बनेको विश्वमै तेस्रो धेरै रनमा गणना भएको छ। र, त्यही ओभरको अन्तिम बलमा दीपेन्द्र आउट पनि भएका थिए।
‘उता दिपु दाइको पनि सटहरू लागिरहेका थियो। उहाँ जमिरहनु भएकाले मैले कम स्ट्राइक पाएँ। उहाँले राम्रो खेल्नुभयो,’ उनले त्यो पलबारे भने।, ‘अन्तिम ओभर भएकाले पनि ५० पुग्ने सम्भावना कम थियो तर म ३१ रन बनाएर आउट भइहालेँ।’ उनले डेब्युमा जोडेको ३१ रन मात्र ११ बलमा सम्भव भएको थियो।
नेपाली टिमका कप्तान सन्दीप लामिछानेले पनि आदिलको खेलको प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘यो खेलमा दीपेन्द्र र आदिलले जुन तारिकाले खेलको लयलाई कायम राखेका छन्। त्यसले नेपाली टिममा थप हौसला बढेको छ।' ’सन्दीप अगाडि भन्छन्, ‘आदिलले आज आफ्नो पहिलो खेल खेलिरहेको छ। उसलाई आफ्नो ट्यालेन्ट देखाउनु पनि थियो। यो उसको लागि ठूलो बूस्ट हो र टिमको लागि पनि हौषला हो।’