काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० शृंखलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ। पाहुना टिमविरुद्ध ३७ रनको जित निकाल्ने क्रममा २०४ रनको लक्ष्य पाएको पीएनजीलाई नेपालले १६६ रनमा रोकेको हो।
त्यसअघि घरेलु टिमले पूरा ओभर खेल्दै सात विकेट गुमाएर २०३ रन बनाएको थियो। जवाफमा पीएनजीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १६६ रन बनायो।
पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ६१ रन बनाए भने टोनी उराले पनि ४३ रनको पारी खेले। सेसे बाउले २५ रन र नोर्मन वाउनाले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।
पीएनजीविरुद्ध नेपालका करण केसीले पाँच विकेट गिराए। त्यस्तै अभिनास बोहरा र सोमपाल कामीले समान २,२ विकेट गिराए। बलिङमा करणले आज टी २० आईमा ५० विकेट पूरा गरेका छन्। उनले नेपालको ५० औं खेलमा आफ्नो ५० विकेट पनि पूरा गरेका हुन्।
३६ खेलका ३६ इनिङमै सहभागिता जनाएका करणले आजको खेलमा विकेटको अर्धसतक पूरा गरेका हुन्। उनले अर्धसतक मात्र पूरा गरेनन्, ३७ खेलबाट ५४ विकेट पूरा गरेका छन्।
पहिलो पारीको अन्तिम दुई ओभर नाटकीय बनेको खेलमा दिपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले रोमाञ्चक खेल प्रस्तुत गरे। उनीहरुले खेलको १७ औं ओभरमा २४ र १८ औं ओभरमा ३२ रन बनाएका थिए।
तर अन्तिम ओभर नेपालका लागि घातक रह्यो। १८ औं ओभरको अन्तिम बलमा दिपेन्द्र आउट भएको खेलमा त्यसपछि नेपालले तीन विकेट गुमायो। नेपालले १८ ओभर पाँच बल हुँदा तीन विकेट गुमाएर १९९ रन बनाइसकेको थियो। त्यसपछिको सात बलमा नेपालले चार विकेट गुमायो।
बिहीबारको खेलको ओपनिङमा नेपाली खेलाडी ४४ रन बनाउँदै ६ ओभर दुई बलसम्म टिक्न सके। ओपनर कुशल भुर्तेल २० बलमा १७ रन बनाउँदै पेवेलियन फर्किएपछि नेपाली टिमले ओपनिङ अर्धसतक बनाउनबाट छ रनले पछि परेको थियो।
खेलको दशौं ओभरमा नेपालले दोस्रो ओपनर पनि गुमायो। यसपटक आसिफको प्रहारलाई डिप मिड विकेटमा रहेका सेसे बाउले सहजै क्याच गरे। ३८ रन बनाएका आसिफको विकेट भने नोर्मन वाउनाको नाममा रह्यो।
उनी आउट हुँदा नेपालको खातामा ७२ रन थियो। त्यसपछि तेस्रो नम्बरमा मैदान छिरेका रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ५१ रनको साझेदारी गर्दा रोहित २३ बलमा ४१ रन जोडे। उनले चार चौका र दुई छक्काको सहयोगमा सो रन जोडेका हुन्।
कुशललाई आउट गराइसकेका रिलेय हेकुरेलाई रोहितले आफ्नो विकेट सुम्पिएसँगै नेपालको खातामा १२३ रन भएको थियो। १५ औं ओभरमा तीन विकेट गुमाएपछि मैदानमा दिपेन्द्र र आदिल आलमले नेपालको लय कायम राखेका थिए। उनीहरुले ७६ रनको साझेदारी गरेका थिए। नोर्मनले सम्हालेको १८ औं ओभरको पहिलो र दोस्रो बलमा दिपेन्द्रले डिप मिड विकेटमा लगातार दुई छक्का प्रहार गरेका थिए।
त्यसको अर्को बलमा डिप पोइन्टतर्फ छक्का हानेपछि दिपेन्द्रले २९ बलमा अर्धसतक पूरा गरेका थिए। त्यो ओभरमा उनले थर्ड मेनतर्फ चौका प्रहार गरे। नेपालले त्यो एउटै ओभरमा नेपालले २४ रन बटुलेको थियो। आजै टी २० आईमा डेब्यु गरेका आदिलले काउबा मोरियको हातबाट आउट हुनुअघि ११ बलमा ३१ रन बनाइसकेका थिए।
आजको खेलमा आदिलको फिनिसिङ अझै रोमाञ्चक तब बन्यो जब उनले दर्शकको भीडतर्फ प्रहार गरेर छ रन जोडे। १९ औं ओभरको पहिलो बलमा चौका प्रहार गरेका उनले नो बलमा प्रहार गरेको छक्काले सात रनको मान्यता पाएको थियो।
आदिलले लङअफ र लङअनमा लगातार चौका र छक्का वर्षाइरहे। ओभरको अन्तिम बलमा प्रहार उराले क्याच गरेपछि दिपेन्द्र ६६ रन बनाएर आउट भए। यद्यपि १९ औं ओभरमा नेपालले ३२ रन जोड्यो। नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा जोडेको यो नै सबैभन्दा धेरै रन हो
दिपेन्द्रले आज सानदार पारी खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ६६ रन बनाएका हुन्। १५ ओभर तीन बलमा फाइन लेगमा चौका बचाएको पीएनजीले नेपालविरुद्ध उत्कृष्ट फिल्डिङ गरे पनि नेपालको आक्रामक ब्याटिङअघि पाहुना टिम कसिलो देखिएन। अन्तिम दुई ओभरमा त पीएनजीको बलिङ र फिल्डिङ दुवै कमजोर बन्यो।
लङ अनमा पीएनजीका खेलाडीले दुई क्याच मिस गरे। यद्यपि काउबा मोरियाले तीन, रिलेय हेकुरेले दुई विकेट लिए भने नोर्मन र नोसाइना पोकनाले समान १,१ विकेट गिराए।