काठमाडौं– त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय कप टी२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले पीएनजीलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। जितसँगै आज फाइनल पुग्ने लक्ष्यका साथ मैदानमा होमिएको नेपालले पूरा ओभर खेल्दै सात विकेट गुमाएर २०३ रन बनाएको हो।
अन्तिम दुई ओभर नाटकीय बनेको खेलमा दिपेन्द्रसिंह ऐरी र मोहम्मद आदिल आलमले रोमाञ्चक खेल प्रस्तुत गरे। उनीहरुले खेलको १७ औं ओभरमा २४ र १८ औं ओभरमा ३२ रन बनाएका थिए।
तर अन्तिम ओभर नेपालका लागि घातक रह्यो। १८ औं ओभरको अन्तिम बलमा दिपेन्द्र आउट भएको खेलमा त्यसपछि नेपालले तीन विकेट गुमायो। १८ ओभर पाँच बल हुँदा नेपालले तीन विकेट गुमाएर १९९ रन बनाइसकेको थियो। त्यसपछिको सात बलमा नेपालले चार विकेट गुमाएको हो।
लामो समयसम्म ओपनिङमा जम्न नसकेको जोडीले आजको खेलमा भने औषत सुरुआत गरेको थियो। ओपनिङमा नेपाली खेलाडी ४४ रन र ६ ओभर दुई बलसम्म टिक्न सके। ओपनर कुशल भुर्तेल २० बलमा १७ रन बनाउँदै पेवेलियन फर्किएपछि नेपाली टिमले ओपनिङ अर्धसतक बनाउन सकेन।
दशौं ओभरमा नेपालले दोस्रो विकेट गुमायो। यसपटक आसिफको प्रहारलाई डिप मिडल विकेटमा रहेका सेसे बाउले सहजै क्याच गरे। ३८ रन बनाएका आसिफको विकेट भने नोर्मन वाउनाको नाममा रह्यो।
उनी आउट हुँदा नेपालको खातामा ७२ रन थियो। त्यसपछि तेस्रो नम्बरमा मैदान छिरेका रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ५१ रनको साझेदारी गर्दा रोहित पौडेलले २३ बलमा ४१ रन जोडे।
कुशललाई आउट गराइसकेका रिलेय हेकुरेलाई रोहितले आफ्नो विकेट सुम्पिएसँगै नेपालको खातामा १२३ रन भएको थियो। १५ ओभरमा तेस्रो विकेट गुमाएपछि मैदानमा दीपेन्द्र र आदिल आलमले नेपालको लय कायम राखेका थिए। दिपेन्द्रले १८ औं ओभरको पहिलो र दोस्रो बलमा नोर्मनको बलमा डिप मिडल विकेटमा लगातार दुई छक्का प्रहार गरेका थिए।
त्यसको अर्को बलमा डिप पोइन्टतर्फ छक्का हानेपछि उनले २९ बलमा अर्धसतक पूरा गरेका थिए। त्यो ओभरमा उनले थर्ड मेनतर्फ चौका प्रहार गरे। नेपालले त्यो एउटै ओभरमा नेपालले २४ रन बटुलेको थियो।
आज नै टी २० आईमा डेब्यु गरेका आदिलले काउबा मोरियको हातबाट आउट हुनुअघि ११ बलमा ३१ रन बनाइसकेका थिए।
आजको खेलमा आदिलको फिनिसिङ अझै रोमाञ्चक तब बन्यो जब उनले दर्शकको भीडतर्फ प्रहार गरेर छ रन जोेडे। १९ औं ओभरको पहिलो बलमा चौका प्रहार गरेका उनले नो बलमा प्रहार गरेको छक्काले सात रन बटुलेको थियो।
आदिलले लङअफ र लङअनमा लगातार चौका र छक्का वर्षाइरहे। ओभरको अन्तिम बलमा दिपेन्द्रको प्रहार उराले क्याच गरेपछि उनी ६६ रन बनाएर आउट भए। यद्यपि १९ औं ओभरमा नेपालले ३२ रन जोड्यो। नेपाली क्रिकेट इतिहासमा एकै ओभरमा जोडेको यो नै सबैभन्दा धेरै रनमध्येको एक हो
दिपेन्द्रले सानदार पारी खेल्दै तीन चौका र चार छक्काको सहयोगमा ६६ रन बनाएका हुन्।
१५ ओभर तीन बलमा फाइन लेगमा चौका बचाएको पीएनजीले नेपालविरुद्ध उत्कृष्ट फिल्डिङ गरे पनि नेपालको आक्रामक ब्याटिङअघि पाहुना टिम कसिलो देखिएन। अन्तिम दुई ओभरमा त पीएनजीको बलिङ र फिल्डिङ दुवै कमजोर बन्यो।
लङ अनमा पीएनजीका खेलाडीले दुई क्याच मिस गरे। यद्यपि काउबा मोरियाले तीन, रिलेय हेकुरेले दुई विकेट लिए भने नोर्मन र नोसाइना पोकनाले समान १,१ विकेट गिराए।