काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रर्वद्धन गर्नुपर्ने बताएका छन्।
बुधबार बिहान बिमस्टेकको पाँचौं शिखर सम्मेलनलाई भर्चुअल्ली सम्बोधन गर्दै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताएका हुन्।
साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिए। बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन।
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरणका लागि पनि कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भने, ‘जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको छ। फर्कन नसक्नेगरी आउने संकटभन्दा पहिले नै हामीले कडा कदम चाल्नुपर्नेछ।’
दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि यसका कार्यक्रमहरू कार्यान्वयनमा पनि तीव्रता दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिए। उनले भने, ‘यो अति कम विकसित मुलुकबाट माथि उक्लिएको नेपालजस्ता देशका लागि यो निकै महत्त्वपूर्ण हो।’
प्रधानमन्त्री देउवाले खोप र स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।