काठमाडौं– कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत प्लेअफ फाइनलमा आज राति पोर्चुगलले नर्थ म्यासेडोनियाको सामना गर्दैछ। युरो विजेता इटालीलाई उसकै मैदानमा हराएर फाइनल पुगेको म्यासेडोनियासँग आज पोर्चुगलले दबाबरहित भएर खेल्न सक्ने अवस्था भने छैन।
त्यसैले त पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो आज राति हुने खेललाई जीवन र मृत्युबीचको युद्धको संज्ञा दिन रुचाउँछन्। खेलअघि उनले पोर्चुगलको म्यासेडोनियासँगको विश्वकप प्लेअफ फाइनल जीवन र मृत्युको विषय भएको बताए।
सेमिफाइनलमा इटालीलाई १–० ले हराउँदै विश्वको ६७ औं स्थानमा रहेको उत्तरी म्यासेडोनिया पहिलो पटक विश्वकपमा छनोट हुन पोर्टो पुगिसकेको छ। उसले अब पोर्चुगललाई हराउन सके पहिलो पटक विश्वकप खेल्नेछ, जुन कतारमा आउँदो नोभेम्बरमा हुनेछ।
यदि म्यानचेस्टर युनाइटेडका फरवार्ड रोनाल्डोले ४१ वर्षसम्म फुटबल नखेल्ने हो भने यो विश्वकप नै उनको अन्तिम विश्वकप हुनेछ। ‘म फ्यानहरूलाई आग्रह गर्छु कि म ड्रगाओ रंगशालामा हारको परिस्थितिबाट गुज्रन चाहन्न। म त्यहाँ आउने अप्ठ्यारा परिस्थितिलाई तोड्न चाहन्छु,’ मंगलबार रातिको खेललाई लिएर कप्तानले भनेका छन्।
प्लेअफको फाइनल पुग्नका लागि सेमिफाइनलमा टर्कीलाई ३–१ ले हराएको पोर्चुगल पछिल्लो पटक सन् १९९८ मा विश्वकपमा पुग्न असफल भएको थियो। त्यसपछिका सबै विश्वकप पोर्चुगलले खेल्दै आएको छ। यता म्यासेडेनियाले हराएको इटाली त २००६ को विश्वविजेता नै हो। तर इटालीले योसँगै दुई विश्वकप गुमाइसकेको छ।
यता नर्थ म्यासेडोनियालाई घरेलु समर्थकको शक्ति देखाउँदै उनले रंगशालामा समर्थकलाई आफैँ राष्ट्रगान गाउन रोनाल्डोले आग्रह पनि गरेका छन्। ‘म हिजो राति ओछ्यानमा गएर यो सोचेँ कि स्टेडियममा हाम्रो राष्ट्रिय गानको लागि संगीत बन्द गर्नुपर्छ र फ्यानहरूलाई हाम्रो जोश, हाम्रो शक्ति र विश्वकपमा पुग्ने उद्देश्यको बारेमा एकता देखाउनको लागि अकापेला (विना बाजागाजा धेरै मानिसले एकैपटक गाउने गीत) गाउन दिन चाहन्छु।’
‘हाम्रो देशका लागि लागि, यो खेल जीवन र मृत्युको कुरा हो। हाम्रो काँधमा यो खेल जित्ने जिम्मेवारी छ। यो त जीवनको खेल पनि हो। म्यासेडोनियाले मैदानमा विपक्षीहरूलाईे धेरै खेलहरूमा हराएका छन् तर मलाई विश्वास छ उनीहरूले हामीलाई हराउन सक्ने छैनन्,’ उनले थपे।
रोनाल्डो पुरुषको अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्। उनले चार विश्वकपमा सात गोलसहित ११५ गोल गरेर सर्वकालीन सर्वाधिक गोलकर्तामा आफनो नाम लेखाएका हुन्। साथै उनले युरो २०१६ मा आफ्नो देशलाई गौरव दिलाए, तर यो उनको विश्वकपमा पुग्ने र जित्ने अन्तिम मौका हुन सक्छ।
रोनाल्डोले भने, ‘मेरो भविष्यको फैसला म नै हुँ। यदि म धेरै खेल्न चाहन्छु भने म खेल्छु। यदि म चाहन्न भने म खेल्दिन।’ यता पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस पनि रोनाल्डोभन्दा कम हठी छैनन्। उनले आज हारेको खण्डमा राजीनामा दिने संकेत गरेका छन्।
‘यदि हामीले सोच्छौं कि सैद्धान्तिक रूपमा, म्यासेडोनियनहरू कमजोर छन्, हामी गलत ट्रयाकमा छौं, यो सबैभन्दा खराब सम्भावित परिदृश्य हो,’ उनले खेलअघि भने, ‘हामीले म्यासेडोनियाको सामना गर्नुपर्ने सत्य हुँदै हो। यदि म्यासेडोनिया नभएको ठाउँमा हामीले इटालीको सामना गर्नुपर्ने हुन्थ्यो भने त्यो अझै बढी दबाब पूर्ण बन्न सक्थ्यो।’
नर्थ म्यासेडोनियाले धेरै पटक युरोपियन फुटबलमा चमत्कार गरिसकेको छ। उसले आफ्नो पहिलो प्रमुख प्रतियोगिता युरो २०२० मा खेल्नुअघि मार्च २०२१ मा भएको विश्वकप छनोटमा जर्मनीलाई २–१ ले हराएर आफ्ना समर्थकलाई अद्भूत आनन्दको महशुस गराइसकेको छ। म्यासेडोनियाको पनि आजको लक्ष्य त्यो नै हो।
युरो २०२० पछि म्यासेडोनियाको टिमका प्रशिक्षक इगोर एन्जेलोभस्कीको स्थानमा आएका ब्लागोजा मिलेभस्कीले आफ्नो आठ खेलहरू मध्ये एउटा मात्र हारेका छन्।
एलेसेन्डर ट्राजकोभ्स्कीले इन्जुरी समयमा पेनाल्टी बक्सको बाहिरबाट गरेको प्रहार सिधै गोलपोस्टमा पुगेपछि सन् २०२० को युरो विजेता इटालीलाई १–० ले हराएर म्यासेडोनिया प्लेअफको फाइनलमा पुगेको हो। ‘हामीले संसारको उत्कृष्ट टोलीहरू मध्ये एक विरुद्ध जित्यौं,’ इटालीलाई हराएको क्षण सम्झँदै प्रशिक्षक मिलेभस्कीले भने, ‘हामी यहिँ रोकिने चाहिँ छैनौं। हामीसँग विश्वकपमा पुग्नको लागि अन्तिम चरण बाँकी नै छ।’
उनले आफू किन युरोपका शीर्ष २० टोलीमा छौं भनेर पुष्टि गर्ने बाटो रहेको पनि बताएका छन्। नापोलीका मिडफिल्डर एलिफ एल्मासले चाहिँ आजको खेल आफ्नो सबैभन्दा कठिनमध्येको एक भएको बताएका छन्। ‘यो हाम्रो सबैभन्दा कठिन खेल मध्ये एक हुनेछ, तर पक्कै पनि हामी सबैका लागि सबैभन्दा रोमाञ्चक हुनेछ,’ उनले भने, ‘हामी विश्वकपबाट ९० मिनेट टाढा छौं र हाम्रो बाल्यकालको सपना पूरा गर्दैछौं। हाम्रो मात्र होइन, सम्पूर्ण म्यासेडोनियावासीको सपना हो यो। हामीले हाम्रो मौका गुमाउनु हुँदैन र हामीले सफल हुन पिचमा सबै कुरा दिनु पर्छ।’
अर्को प्लेअफ फाइनलमा आजै राति पोल्यान्डले स्विडेनको सामना गर्नेछ। प्लेअफको फाइनल जित्ने टिम विश्वकपमा पुग्नेछ। आज रातिको फाइनल सकिएसँगै युरोपबाट विश्वकप पुग्ने १२ टिमको टुंगो लाग्नेछ।
युरोपबाट १३ टिम सहभागी बन्ने विश्वकपको छनोटमा सहभागी युक्रेनको टिमले प्लेअफ खेल भएको छैन। अब युक्रेनले सेमिफाइनलमा स्कटल्यान्डको सामना गर्नेछ।
यस्ता छन् विश्वकपमा छनोट भएका १९ देश
युरोप
जर्मनी, डेनमार्क, बेल्जियम, फ्रान्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्गल्याण्ड, स्विजरल्याण्ड र नेदरल्याण्ड्स
दक्षिण अमेरिका
ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे
उत्तर अमेरिका
क्यानडा (अमेरिका र मेक्सिको छनोट नजिक)
अफ्रिका
विश्वकप पुग्ने पाँचै टिमको आज राति निर्णय हुने। (शुक्रबारको प्लेअफ खेलेपछि अल्जेरिया, मोरक्को र ट्युनिसियाले विश्वकपको नजिक पुगेका छन्।)
एसिया
इरान, दक्षिण कोरिया, साउदी अरब र जापान