काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय निर्वाचनका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ।
गएको शुक्रबारदेखि पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकले आज उक्त निर्णय गरेको हो।
त्यसैगरी बैठकले प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ। महत पार्टी प्रवक्ता पनि हुन्।
त्यसैगरी बैठकले स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ।
‘स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनसँग तालमेल गरेर जाने निर्णय पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत गरेको छ। तालमेलको निर्णयपछि अब त्यसका विधि र प्रक्रियाहरु निर्माणका लागि आवश्यक छलफल अघि बढाउँछौं,’ बैठकपछि नेता रामचन्द्र पौडेलले भने। पार्टीका पालिका कमिटीहरुले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यही अनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार कांग्रेसले दिएको छ।
अनुशासन समिति र संसदीय समिति भने गठन नभएको र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि गठन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, चित्रलेखा यादव पछि नहट्ने देखिएपछि संसदीय समिति बन्न नसकेको हो। एक केन्द्रीय सदस्यका अनुसार एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की नअट्ने भएपछि समिति गठनको निर्णय हुने सकेन।