काठमाडौं– केही समययता विवेकशील साझा पार्टीमा बढेको विवादले उग्र रुप लिएको छ। विवाद बढ्दै गएपछि मंगलबार ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालय नै बन्द भएको छ।
दुई पक्षबीच विवाद भएपछि केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको हो।। अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा विवाद भएको थियो।
दुई पक्षका नेता–कार्यकर्ताबीच धलेकधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो। पार्टी कार्यालयले सूचना जारी गरेर ‘केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द गरेको’ जनाएको छ।
विवेकशील साझा पार्टीले मंगलबार कार्यालयमा नवनियुक्त प्रदेश इन्चार्ज र प्रदेश संयोजकलाई शुभकामना दिने कार्यक्रम राखेको थियो। सोही समयमा संगठन विभाग प्रमुख निर्देश शिलवाललगायत असन्तुष्ट पक्षले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखेका थिए। कार्यक्रम गर्ने र गर्न नदिनेबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो।
विवादका कारण कार्यालयमा ताला लागेपछि विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई ‘छोटे हिटलर’को संज्ञा दिएका छन्। आफ्नो समूहले पत्रकार सम्मेलन गर्न नपाएपछि पाण्डेले यस्तो बताएका हुन् । ‘रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्,’ पाण्डेले ट्विटरमा भनेका छन्।
अध्यक्ष मिश्रले पार्टी कब्जा गर्न खोजेको आरोप पनि पाण्डले लगाएका छन्। ‘आज रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरेका छन्। यो उनको अर्को अलोकतान्त्रिक कदम हो,’ उनले भनेका छन्।
पाण्डे पक्षले मंगलबार बिहान पार्टी कार्यालयमै पत्रकार सम्मेलन गर्ने बताएको थियो। तर, अध्यक्ष मिश्र पक्षले कर्मचारीबाहेक अन्यका लागि पार्टी केन्द्रीय कार्यालय बन्द गरेको सूचना जारी गरेपछि पाण्डे पक्ष आक्रोशित बनेको छ।
पाण्डे पक्षले कार्यालयभित्र पत्रकार सम्मेलन गरेपछि मिश्र पक्षले अवरोध गरेको थियो। मिश्र पक्षको अवरोधसँगै दुई पक्षबीच नाराबाजी चलेको थियो। सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि दुई पक्षबीच झडप भने हुन पाएन।