काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भमण दुई देशको सम्बन्धमा महत्वपूर्ण कोशेढुंगा सावित भएको परराष्ट्र मन्त्रालयले बताएको छ।
यही शुक्रबारदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विदेशमन्त्री वाङको भ्रमणबारे धारणा राखेकी हुन्।
‘हामीले छिमेकीलाई उच्च प्राथकिकता दिँदै आएका छौं। चिनियाँ विदेशमन्त्रीको भमण माइलस्टोन रह्यो,’ उनले भनिन्।
प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारी तीव्र रुपमा भइरहेको मन्त्रालयले जनाएको छ। यसअघि सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भ्रमण तालिका सार्वजनिक गरेका थिए।
प्रधानमन्त्री देउवा शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि भारत जाँदैछन्। देउवाले शनिबार हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। देउवा मोदीको निर्वाचन क्षेत्र बनारस पनि पुग्ने कार्यक्रम छ।