जनकपुरधाम- तीन दशकअघि जनकपुरधाममा बजार क्षेत्र सीमित थिए, सहरको विकास भइसकेको थिएन। सडक पनि पर्याप्त थिएनन्। सवारीसाधन चलाउने व्यक्ति कमै थिए। साइकल चलाउने पुरुषलाई हुनेखाने मानिन्थ्यो, अरू साधन चलाउनेको त सान र मान निकै हुन्थ्यो। साइकलमा हिँड्ने महिलाचाहिँ कमै हुन्थे। साइकल चलाएर हिँड्दा महिला आफैं पनि सहज मान्दैनथे। किनकि साइकल चलाउने महिलालाई राम्रो मानिँदैनथ्यो समाजमा।
६० वर्षीया आभा भारती गिरी ती दिन सम्झन्छिन्, ‘सुरुसुरुमा साइकल चढेर हिँड्दा धेरैले उभिएर हेरिरहन्थे।’ कतिपय व्यक्तिले नकारात्मक टिप्पणी गरेको दिमागमा ताजै छ उनको।
आभाका बुवाले सानैदेखि साइकल चलाउन प्रोत्साहित गर्थे। आत्मनिर्भर बनाउनकै लागि बुवाले साइकल र स्कुटी चलाउन सिकाएको बताउँछिन् उनी। भारत माइती भएकी आभाको विवाह जनकपुरधामका रामप्रसाद गिरीसँग भएपछि उनलाई स्कुटी त परै जाओस् साइकल चलाउनसमेत बन्द गर्नुपर्ने अवस्था आयो। स्नातक पढेकी उनको विवाह जोसुकैसँग भए पनि सरकारी जागिर खाने चाहना बाल्यकालदेखि थियो।
विवाह भएपछि स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो। आभाले आवेदन दिइन् र सफल पनि भइन्। ‘मलाई सानैदेखि सरकारी जागिर खाने इच्छा थियो’, आभाले भनिन्, ‘त्यसैले मैले पनि शिक्षक दरबन्दीका लागि निस्किएको आवेदन भरें। नाम निस्कियो।’ पहिलो प्रयासमै आयोगको परीक्षामा उत्तीर्ण हुँदा आभालाई संसार जितेजस्तै भएको थियो रे।
पहिलो नियुक्ति जनकपुरधामबाट १५ किलोमिटर दुरीमा रहेको नौवाखोर प्रसाहीको विद्यालयमा भयो। ‘सरकारी जागिर पाएकोमा खुसी थिएँ तर दैनिक १५ किलोमिटर टाढा विद्यालयमा पढाउन कसरी पुग्ने भन्ने चुनौैती थपियो’, आभाले स्मरण गरिन्।
तीन घण्टा लगाएर विद्यालय जाँदा उनलाई थप सास्ती हुन थाल्यो। अनि उनले परिवारमा साइकल किन्ने इच्छा व्यक्त गरिन्। परिवारले स्वीकृति त दियो तर महिलाले चढ्ने साइकल पाउन कठिन थियो। उति बेला जनकपुरमा पुरुष चढ्ने साइकल मात्रै उपलब्ध थियो।
नौवाखोर प्रसाही जाने बाटो राम्रो थिएन। भाडाका सवारीसाधन चल्दैनथ्यो। केही दिन त पतिले मोटरसाइकलमा ल्याउने–लैजाने गरे। पति राजनीतिक गतिविधिमा व्यस्त थिए। ‘राजनीतिमा लाग्ने व्यक्तिलाई बिहानबेलुका भनेर समय तोकिएको हुँदैन’, उनले भनिन्, ‘उहाँको दैनिकी पनि लगभग त्यस्तै थियो। त्यसैले तीन घण्टासम्म हिँडेर स्कुल जान्थें।’
अहिले त कामकाजी महिलाले घरको सबै काम सकेर मात्र जागिरमा जानुपर्ने अवस्था छ भने त्यति बेलाको समाजमा आभामाथि कडै बुहार्तन थियो। उनी भन्छिन्, ‘खाना बनाउनेदेखि लिएर सरसफाइसम्मको काम गरेर बिहान ७ बजे नै स्कुल जान्थें।’ बिहानको कक्षा हुँदा उनी रातको २ बजे नै उठ्थिन् रे। अनि घरधन्दा सक्दा चार बज्थ्यो। त्यसपछि स्कुल जाँदा शरीरले भोगेको सास्ती शब्दमा बयान गर्न नसक्ने बताउँछिन् आभा।
खाना नखाई स्कुल जाने कुरा भएन। पतिले भन्दा पहिला खायो भने राम्रो मानिँदैनथ्यो। तराई केही ठाउँमा अहिले पनि त्यो अवस्था कायमै छ भने त्यो बेला यो नियम कडा हुने नै भयो। घरमा पतिले भन्दा पहिला खाना खाँदा पाएको सजाय पनि आभाको स्मृतिमा ताजै छ। उनी सम्झन्छिन्, ‘मलाई विद्यालय पुग्न हतार हुन्थ्यो। त्यसैले उहाँभन्दा अगावै खाना खाइहाल्थें’। एक दिन सासूले श्रीमान् भन्दा अगाडि खाएको देख्नुभएछ धेरै गाली गर्नुभयो।’
सासूको गालीले आभाको मुटुमा छेड्यो। त्यसपछि त उनी कैयौं दिनसम्म भोकै विद्यालय गइन्। रामप्रसाद गिरीले थाहा पाएपछि आमालाई सम्झाए। अनि मात्रै आभा पुनः खाना खाएर विद्यालय जान थालिन्। तीन घण्टा लगाएर विद्यालय जाँदा उनलाई थप सास्ती हुन थाल्यो। अनि उनले परिवारमा साइकल किन्ने इच्छा व्यक्त गरिन्। परिवारले स्वीकृति त दियो तर महिलाले चढ्ने साइकल पाउन कठिन थियो। उति बेला जनकपुरमा पुरुष चढ्ने साइकल मात्रै उपलब्ध थियो।
अनि रामप्रसादले पत्नीका लागि साइकल खोज्न थाले। उनलाई समाजमा प्रश्न उठाउन थालियो। ‘तिम्री श्रीमती अब साइकल चढेर बाहिरबाहिर घुम्छिन्, घरबार बिग्रिन्छ भन्ने कुरा साथीले मलाई भन्ने गर्थे’, गिरीले भने, ‘तर हामीबीचको विश्वासका कारण कहिल्यै कटुता आएन।’
आफ्नो २७ वर्षे कार्यकालमा आभाले साइकलबाहेक अरु कुनै सवारीसाधन प्रयोग गरिनन्। जहाँ पनि सरुवा हुँदा उनी साइकलमा ओहोरदोहोर गर्थिन्।
लेडिज साइकल नपाएपछि अर्डर गर्नुपरेको सम्झन्छिन् आभा। उनले भनिन्, ‘लेडिज साइकल अर्डर गरेको २ महिना पछि मात्रै किन्न सकें।’ प्रावि शिक्षकको तलब १ हजार ४ सय ५० रुपैैयाँ मात्र थियो। उनले विद्यालय पुग्न आफ्नो एक महिनाको तलब खर्चेर साइकल किनेकी थिइन्।
नगरपालिकाले साइकल नम्बरको स्टिकर टाँस्ने गथ्र्यो। सोही नम्बरका आधारमा वार्षिक ५ रुपैयाँ कर बुझाउनुपथ्र्यो। आभाले साइकल चलाएर विद्यालय पुग्दा गाउँका महिलाले बाटोमै रोकिदिन्थे र सोध्थे, महिला भएर साइकल चलाउने हो? उनीहरूले साइकल चढेको देखेर छोरीबुहारी बिग्रिन्छन् भन्दै गाली गर्थे। कतिपयले भने उत्साह थपिदिएको बताउँछिन् आभा। बिस्तारै उनी जनकपुरमा साइकल चलाउने महिलाका रूपमा परिचित हुन थालिन्। ‘त्यो बेला मैले साइकलबाट मेरो पहिचान बनाएको थिएँ’, उनले भनिन्, ‘यति मात्रै होइन मेरो जागिर बचाउनसमेत साइकलकै योगदान छ।’
आफ्नो २७ वर्षे कार्यकालमा आभाले साइकलबाहेक अरु कुनै सवारीसाधन प्रयोग गरिनन्। जहाँ पनि सरुवा हुँदा उनी साइकलमा ओहोरदोहोर गर्थिन्। शिक्षण पेसाबाट अवकाश पाइसकेकी आभाले भनिन्, ‘अब त ज्यानले पनि साइकल चलाउन साथ दिँदैन।’