काठमाडौं– पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दुई खेलको क्रिकेट शृंखलामा हार बेहोरेको दुई दिनपछि त्यही मैदानमा जित निकालेको नेपाली टिमका कप्तान सन्दीप लामिछानेले खेलपछि बलियो टिम मैदान फर्किएको प्रतिक्रिया दिएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीलाई १५ रनले हराएपछि सन्दीपले नेपालको बलियो टिम मैदान फर्किएको र सिरिज जित्ने लक्ष्य राखेको बताएका छन्। ‘आज हाम्रो बलियो टिम फर्किएको छ। आजको जित राम्रो नै हो, यद्यपि ब्याटिङमा अझै १५ रन जति धेरै बनाउन सकिन्थ्यो। यो पिचमा धेरै रन बन्छ तर हामीले राम्रो डिफेन्ड गर्यौं,’ खेलपछि सन्दीपले भने।
कीर्तिपुर मैदानमा नेपाल–पीएनजी–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट सिरिज आजबाट सुरु भएको होे। प्रतियोगिताको उद्घाटन खेलमै नेपालले जित निकाल्यो। बलिङबाट आफूले दिएको लक्ष्यको रक्षा गर्न सफल भए पनि केही क्षेत्र अझै सुधार गर्न बाँकी रहेको सन्दीपको ठम्याइ छ।
उनले पछिल्लो र यो सिरिजबारे भने, ‘एकदिवसीय सिरिज पनि राम्रै भएको थियो। त्यो सिरिजमा सबै युवा खेलाडी थिए। अहिले बलिया टिम ब्याक भएपछि हाम्रो आशा पनि धेरै भएको छ। सिरिज जित्ने योजना छ।’
एकदिवसीयमा व्यक्तिगत ठूला रन बने पनि आजको खेलमा कुनै नेपाली खेलाडीले अर्धशतक बनाउन सकेनन्। अर्थात् ब्याटिङमा व्यक्तिगत ठूलो स्कोर बनेको छैन। ‘यसरी व्यक्तिगत हेर्नुभन्दा पनि हामीले समग्रमा खेल हेर्नुपर्ने हुन्छ। यो टिम गेम हो,’ सन्दीपले भने, ‘सबै खलाडीको एफर्ट राम्रो नै थियो। खेलाडीले अझै राम्रो गर्छन् भन्ने आशा पनि छ। आउँदा दिनमा बिग टोटलमा खेलाडीले स्कोर बनाउन सक्नेछन्।’
सुरुमा बलिङमा नराम्रो भए पनि खेलको बीचमा राम्रो बनेको थियो। यी कुरालाई सन्दीपले नजिकबाट हेरेको बताएका छन्। ‘मलाई लाग्छ ब्याटरको विचार बुझ्न सकिँदैन, अनि कति बेला योजनाले काम गर्दैन। केही पटक मिस हुन्छन्। यद्यपि बलिङ राम्रो नै छ म खुसी छु,’ सन्दीपले भने।
अहिले नेपालको टी २० टिममा रोहित कुमार पौडेल फर्किएका छन्। बीचमा एकपटक राष्ट्रिय टिमबाट हराएका रोहित अहिले राम्रो फर्ममा देखिएका पनि छन्। एकदिवसीय सिरिजमा नै उनले विभिन्न रेकर्ड तोडेका थिए। त्यसैले मुख्य प्रशिक्षक पुबुदु दशानायकेले रोहितलाई टिममा फर्काएर आदिल अन्सारीलाई हटाएका हुन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीलाई १५ रनले हराएपछि सन्दीपले नेपालको बलियो टिम मैदान फर्किएको र सिरिज जित्ने लक्ष्य राखेको बताएका छन्।
यी दुई खेलाडीको तुलना गर्दै सन्दीपले दुवै खेलाडी राम्रो भएको बताए। ‘रोहित एकदिवसीय मात्र नभएर टी–२० मा आएर पनि राम्रो गरेका छन् र उनले आफूलाई बदलेका छन्।’
सन्दीपले अहिले टिमको प्रदर्शनमा तालमेल मिलिरहेको र बलिङमा अलिकति काम गर्न बाँकी रहेको बताएका छन्। आजैको खेलमा पनि १६ औं र १७ औं ओभरमा धेरै रन खाँदा खेल परिवर्तन हुने सम्भावना देखिएको थियो। १६ ओभरमा नेपालले १९ रन दिएको थियो भने १७ औं ओभरमा पनि १३ रन दिएको थियो।
‘तर त्यतिबेला पीएनजीको सात विकेट गइसकेको थियो। हामीलाई विकेट चाहिएको थियो,’ सन्दीपले भने, ‘यो एक–दुई कुरालाई लिएर हामीले अझै काम गर्न सक्छौं। त्यतिबेला हामीलाई एक विकेट मात्र चाहिएको थियो। विकेट एक दुई आए राम्रो रन नदिने योजना थियो।’ त्यसपछि नेपालले लगातार तीन विकेट लिएर खेल आफ्नो पक्ष्यमा पारेको थियो।
अब नेपालले अर्को खेलमा मलेसियाको सामना गर्नेछ। मलेसियाले गएको वैशाखमा यही मैदानमा नेपालसँग खेलेपछि खेलेको छैन। यद्यपि नेपालविरुद्ध मलेसिया जहिल्यै कठिन प्रतिद्वन्द्वी हो। ‘हामीले उसलाई सहज चाहिँ लिएको छैन। मलेसियाले तयारी राम्रो गरिरहेको होला। सायद राम्रो खेल होला,’ सन्दीपले भने।
‘जितले सधैं खुसी दिन्छ। हामीले यसरी खेल्नु राम्रो हो। आज हामीले राम्रो गरेका छौं,’ जितपछि प्रशिक्षक पुबुदु दशानायकेले भने, ‘यो केही लामो प्रतियोगिता हो। म आशावादी छु।’
उनले युवा खेलाडी भएका कारण ठूलो स्कोर नभएको र सबै खेलाडीले नेतृत्वदायी भूमिका खेल्न नसकेको बताएका छन्। त्यसैले पुबुदु उनीहरुलाई आफ्नो ठाउँमा राख्न चाहन्छन्। ‘विभिन्न कारणहरु आइरहन्छन र हामी जहिल्यै दबाबमा हुन्छौं। बलिङ राम्रो गरिरहेकै छौं। समग्रमा राम्रो नै छ। तर पनि हामी दबाबमा देखिन्छौं,’ प्रशिक्षकले भने। आज पनि एक समय त्यस्तै थियो। पाँच ओभरमा ७० रन चाहिएको थियो। तर पनि खेलमा नेपाल हार्न गरिरहेको जस्तो देखिएको थियो। ‘केही कुराहरुले त्यो भएको थियो। तर हामीले अरुलाई दोष दिन मिल्दैन। त्यसैले साना–साना कुरालाई पाठको रुपमा लिएर आउँदा दिनमा अघि बढ्नु पर्नेछ,’ उनले भने।
रोहित अहिले बेस्ट फर्ममा छन्। ‘उनलाई ओमनमा नछान्नुको कारण चाहिँ कारण छ। त्यो खेलका लागि धेरै दबाब थियो। मेरो योजना चाहिँ उनलाई एकदिवसीयमा केन्द्रित होउन् भन्ने नै हो,’ पुबुदुले भने, ‘किनभने यहाँ सबै ब्याटरहरु टी २० खेल्ने टाइपका छन्। यूएईमा पनि त्यस्तै देखियो। र, हामीले डिफेन्सिभ खेल्नु परिरहेको छ। ‘रकेट स्ट्राइक’को खोजि गर्नुपर्ने हुन्छ जसले ठूलो सट खेल्न सक्छ। कीर्तिपुरको मैदानमा खेलेर ब्याटरहरुमा कन्फिडेन्स पनि धेरै आउँछ।’
उनी यो प्रतियोगिताबाट नयाँ खेलाडीको खोजीमा छन्। भन्छन्, ‘कोही नयाँ आओस् भन्ने मेरो चाहना हो। आजको खेलमा पनि बेस्ट टिम बनाउने दबाब थियो। यो प्रतियोगिताबाट एक दुई पोजिसनमा खेलाडी पाइयोस् भन्ने हो।’