काठमाडौं- शुक्रबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो पुनः बस्ने भएको छ। सोमबार वक्ताहरूको बोल्ने क्रम नसकिएपछि सोमबारका लागि स्थगित गर्दै मंगलबार दिउँसो तीन बजे पुनः बैठक बोलाइएको कांग्रेस कार्यालयले जानकारी दिएको छ।
सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेल, शेखर कोइराला र गृहमन्त्री खाडलगायतले धारणा राखेका थिए।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने बताए। शेखरले चुनावी तालमेल गर्न नहुने पक्षमा धारणा राखे।
यसपाली तालमेल गरी अन्य चिन्हमा लगाएको मतदातालाई पुनः रुखमा फर्काउन नसकिने थापाको धारणा थियो। शर्माले विगतका मतको विवरण प्रस्तुत गर्दै तालमेलका पक्षमा उभिए। खाणले विगतमा नै तालमेलबारे सहमति भएको भन्दै यसबाट पछि हट्न नहुने धारणा राखेका थिए।
सोमबारको बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले चुनावी तालमेलका विषयमा मंगलबार निर्णय हुने जानकारी दिए।