सोमबार, भदौ ३१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • परमिता मुछिएको बूढानीलकण्ठ दुर्घटना : चालकले अदालतमा पेश गरेको लाइसेन्स नै नक्कली

परमिता मुछिएको बूढानीलकण्ठ दुर्घटना : चालकले अदालतमा पेश गरेको लाइसेन्स नै नक्कली

पृथ्वी मल्ललाई उन्मुक्ति दिन उनकी आमा जुना मल्लले गरेको विभिन्न प्रयासले पनि अदालतमाथि शंका बढाएको छ। न्यायाधिश सूर्यप्रसाद अधिकारीले अभियुक्तको परिवारसँग मिलेमतोमा एकलौटी फैसला गरेको सरकारी वकिल कार्यालयको दावी छ।
 |  सोमबार, चैत १४, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

सोमबार, चैत १४, २०७८

काठमाडौं– दुई वर्षअघि बूढानीलकण्ठमा भएको सवारी दुर्घटनामा काठमाडौं जिल्ला अदालतले विवादित फैसला गरेपछि सरकारी वकिलको कार्यालय यसविरुद्ध उच्च अदालत जाने भएको छ।

triton college

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले गत सोमबार दुर्घटनाका प्रमुख अभियुक्त पृथ्वी मल्ललाई ६ महिना जेल सजाय र एक हजार जरिवाना फैसला गरेको थियो। तर, उक्त फैसलामा चलखेल भएको भन्दै सरकारी वकिलको कार्यालयले पीडित पक्षसहित पुनरावेदनको लागि उच्च अदालत जाने तयारी गरेको छ।

अदालतले जानी–जानी अन्यायपूर्ण फैसला गरेको पीडित पक्षको आरोप छ। फैसलाको पूर्ण पाठ आएपछि सोही अनुसार पुनरावेदनको लागि पत्र तयार पारेर उच्च अदालत जाने पीडित परिवारका सदस्य यादव देवकोटाले जानकारी दिए। आफूहरु जिल्ला अदालतले जारी गरेको फैसलाको पूर्ण पाठ कुरिरहेको उनले बताए। उनले नेपाल समयसँग भने, ‘मृतक लीला देवकोटा मेरो भाउजू हो। दाइ सोझो र इमान्दार हुनुहुन्छ, बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म गार्मेन्टबाट बाहिर निस्कनै भ्याउनुहुन्न। तर इमान्दार भन्दैमा अदालतले अन्यायपूर्ण फैसला गर्न पाउँदैन।’ 

पीडित परिवार सोझो र पहुँच नभएको ठानेर अदालतले आरोपित पक्षसँग मिलेर फैसलामा चलखेल गरेको उनको आरोप छ। ‘बरु कुकुर मार्नेलाई बढी सजाय हुन्छ, तर खुलमखुल्ला मान्छे मार्नेलाई यस्तो सजाय सुनाउन अदालतलाई लाज लाग्नुपर्ने हो,’ पीडित परिवारको गुनासो छ। 

फैसला गर्ने न्यायाधीश सूर्यप्रसाद अधिकारीले भने आफूले फैसला गरिसकेकोले त्यसबारे नबोल्ने भन्दै पीडित पक्ष पुनरावेदनका लागि उच्च अदालत जान सक्ने बताएका छन्। उनले नेपाल समयसँग भने, ‘मैले मेरो तर्फबाट फैसला जारी गरिसकेँ, अब उहाँहरु पुनरावेदनको लागि उच्च अदालत जान सक्नुहुन्छ।’

Metro Mart
vianet

०७६ मंसिर २८ गते बूढानीलकण्ठमा मल्लले चलाइरहेको बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिएर ४२ वर्षीया पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो। त्यतिबेला प्रहरी अनुसन्धानपछि चालक मल्लले मादक पदार्थ सेवन गरेको खुलेको थियो। 

मल्लले चलाइरहेको उक्त कारमा अभिनेत्री परमिता आरएल राणासहित अन्य दुईजना पनि सवार थिए। एउटा सेलिब्रिटी स्वयम् मादक पदार्थ सेवन गरेर कारमा सवार हुनु र साथीलाई पनि त्यही अवस्थामा चलाउन दिनुले पनि यो दुर्घटनालाई लिएर ठूलो आलोचना भएको थियो। ‘ड्रिंक एन्ड ड्राइभ’का रुपमा चर्चित यो दुर्घटनामा पीडित परिवारको एउटै माग थियो– ‘पीडकलाई कडा सजाय हुनुपर्छ।’ तर, त्यसो नभएपछि पीडित परिवार अहिले न्यायालयबाटै अन्याय भएको महसुस गरिरहेको छ। 

स्वीकारोक्ति र मेडिकल रिपोर्ट

त्यसो त सवारी चालक पृथ्वी मल्लले पनि दुर्घटना हुँदा आफूले मदिरा पिएको स्वीकार गरिसकेका छन्। उनले बयानमै भनेका थिए, ‘मैले ज्याक डेनिअल्स रक्सी खाएको थिएँ। मदिरा सेवन गरी सवारी चलाउँदा सवारी दुर्घटना हुनसक्छ भन्ने कुराको जानकारी हुँदाहुँदै पनि मैले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना भएको हो।’ 

दुर्घटना हुँदा गाडीमै रहेका अर्का व्यक्ति करिश मास्केले पनि आफूहरुले मदिरा पिएको स्वीकार गरेका छन्। यहाँसम्म कि चिरायु हस्पिटलको मेडिकल रिपोर्टमा पनि सवारी चालक पृथ्वी मल्लले मदिरा पिएको प्रमाणित भएको छ। 


पृथ्वी मल्ल र करिश मास्केको स्वीकारोक्ति बयान तथा मेडिकल रिपोर्ट अदालतमा प्रस्तुत गरिएका बलिया प्रमाण हुन्। तर प्रमाण हुँदाहुँदै पनि अदालतले कमजोर फैसला गर्दा यतिखेर न्यायाधिशमाथि नै प्रश्न उठिरहेको छ। 

प्रहरी अनुसन्धानलाई आधार मान्ने हो भने पृथ्वी मल्ल सम्पन्न परिवारका व्यक्ति हुन्। उनी दुर्घटना हुनुभन्दा ४ दिनअघि मात्र अमेरिकाबाट नेपाल आएका थिए। 

पृथ्वी मल्ललाई उन्मुक्ति दिन उनकी आमा जुना मल्लले गरेको विभिन्न प्रयासले पनि अदालतमाथि शंका बढाएको छ। न्यायाधिश सूर्यप्रसाद अधिकारीले अभियुक्तको परिवारसँग मिलेमतोमा एकलौटी फैसला गरेको सरकारी वकिल कार्यालयको दावी छ। 

पृथ्वी मल्लले सहायक जिल्ला न्यायाधिवक्ता धिरन्जन स्थापितलाई दिएको बयानमा आफूसँग चार पांग्रे गाडीको लाइसेन्स भएको बताएका थिए। तर, अनुसन्धान गर्दै जाँदा उनीसँग चार पांग्रेको नभएर दुई पांग्रे सवारी साधनको मात्र लाइसेन्स पुष्टि भएको सरकारी वकिल कार्यालयले जनाएको छ। 

सरकारी वकिल कार्यालयका एक वकिलले भने, ‘आरोपित पक्षले अदालतको आँखामा छारो हाल्न खुब प्रयास गरेको छ, तर अचम्म त के छ भने अदालत पनि जानी–जानी आँखामा पट्टी बाँधेर बसिदियो।’ 

भुस्याहा कुकुर र पृथ्वी मल्लको अन्तराष्ट्रिय लाइसेन्स

छोरा पृथ्वी मल्ललाई सफाइ दिन उनकी आमा जुना मल्लले अदालतमा पेश गरेको अन्तर्राष्ट्रिय लाइसेन्स नक्कली रहेको खुलेको छ।   

उनले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय लाइसेन्समा उल्लेख गरिएको वेबसाइट अध्ययन गर्दा पृथ्वीको अन्तराष्ट्रिय लाइसेन्स नक्कली भएको प्रमाणित भएको हो। उक्त वेबसाइटबाट जो–कोहीले पनि कोठामै बसी–बसी ३५ सय रुपैयाँ तिरेर सजिलै अन्तर्राष्ट्रिय लाइसेन्स निकाल्न सक्छ। 

यसलाई प्रमाणित गर्न पत्रकार उमेश श्रेष्ठले एउटा डेमो नै गरेका थिए। उनले उक्त वेबसाइटमा ‘भुस्याहा कुकुर’ नाम राखेर आवेदन प्रक्रिया पूरा गरेका थिए। आवेदन दिएको करिब २ घण्टामै उनको मेलमा ‘भुस्याहा कुकुर’कै नाममा अन्तर्राष्ट्रिय लाइसेन्स आएको थियो। 

भुस्याहा कुकुरको अन्तर्राष्ट्रिय लाइसेन्स र अदालतमा जुना मल्लले प्रस्तुत गरेको पृथ्वी मल्लको अन्तर्राष्ट्रिय लाइसेन्स एकै प्रकारको पाइएको हो। लाइसेन्समा नाम मात्र फरक छ। नामबाहेक लोगो, हस्ताक्षर, अक्षर सबै एउटै छ। 

अदालतमा जुना मल्लले प्रस्तुत गरेको छोराको अन्तर्राष्ट्रिय लाइसेन्स नक्कली भएको थाहा पाउँदा–पाउँदै पनि न्यायाधिश अधिकारीले ६ महिनाको जेल सजाय फैसला गरेको सरकारी वकिल कार्यालयको दावी छ। एक अधिवक्ताले नेपाल समयसँग भने, ‘यो फैसलामा पूरै चलखेल भएको छ, हामी पुनरावेदनको लागि उच्च अदालत जान्छौँ।’ 

त्यसो त दुर्घटना हुँदा गाडीमा पृथ्वी मल्लसहित अन्य तीन जना पनि थिए। तर अदालतमा प्रस्तुत गरिएको मिसिलमा भने पृथ्वी मल्ल र करिश माश्केको बयानमात्र समावेश गरिएको छ। 

जबकी अभिनेत्री परमिता आरएल राण र एलिना थापा पनि दुर्घटनाकी साक्षी थिइन्। सर्वत्र आलोचना भएपछि घटना भएको २६ दिनपछि फेसबुकमा स्टाटस लेख्दै माफी नै मागेकी थिइन् परमिताले। ‘पहिला त म सबैसँग क्षमाप्रार्थी छु। हामी चारजनाको वेवकुफीले एकजना निर्दोषको ज्यान गएको छ। त्यो दिन भएको घटना सत्य नहोस् र मात्र एउटा नराम्रो सपना होस् भन्ने मेरो चाहना छ, तर दुर्भाग्य म पनि त्यही कारमा सवार थिएँ। आफ्नो कुरा राख्न यति ढिला गरेकोमा म फेरि पनि माफी माग्न चाहन्छु,’ ,’ उनले फेसबुकमा माफी माग्दै उनले लेखेकी थिइन्

त्यतिबेला उनले आफूसँग मादक पदार्थ सेवन गरेका व्यक्तिले चलाएको उक्त गाडी नचढ्ने विकल्प हुँदाहुँदै पनि चढेर जीवनको ठूलो गल्ती गरेको र त्यसबाट सदाका लागि पाठ सिकेको बताएकी थिइन्। 

तर, अहिले अदालतको मिसिलमा परमिताको बयान न समेटिएको नै पाइन्छ, न यो फैसलापछि उनले केही बोलेकी नै छिन्। 


प्रकाशित: Mar 28, 2022| 16:50 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।