काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी तालमेलको विपक्षमा भएको बताएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले यस्तो बताएका हुन्।
'म गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न,' महामन्त्री थापाले भने, 'देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी? अहिले हँसियाहथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त? रूख बाहेक अन्य चुनाव चिन्हमा भोट हालेका लाखौँ कार्यकर्तालाई कांग्रेसमा फर्काउन सकिन्छ?'
उनले अहिले लाखौँ कार्यकर्ता नयाँ भएको तिनलाई रुख बाहेक अन्यत्र भोट हाल्न लगाएर पछि पुनः उनीहरूलाई कांग्रेसमा फर्काउन नसकिने उनको भनाइ थियो। 'त्यसको ग्यारेन्टी सभापतिजीले लिन सक्नुहुन्छ? भोली ती नयाँ कार्यकर्ताले रूखमै भोट हाल्नछन् भन्ने के छ? सैद्धान्तिकरूमा कांग्रेसले गठबन्धनको जस्टिस गर्न सक्दैन,' उनले भने।
नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भन्ने देखाएर लोकतन्त्र बलियो भयो भनेर बस्न नहुने उनको भनाइ छ। थापाले बोल्दाबोल्दै समय सकिएको थियो। समय सकिएको जनाउ घण्टी बजेपछि उनले कुरा छोट्याएर टुंग्याएका थिए।