आइतबार, साउन ३१, २०८३

कांग्रेस बैठकमा देउवा र कोइरालाबीच 'दोहोरी'

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सवालजवाफ भएको छ। चुनावी तालमेलका विषयमा शीर्ष नेताहरू सवालजवाफमा उत्रिएका हुन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सवालजवाफ भएको छ। चुनावी तालमेलका विषयमा शीर्ष नेताहरू सवालजवाफमा उत्रिएका हुन्। 

बैठकमा सहभागी हुँदै शेखरले विभिन्न प्रश्न उठाउँदै चुनावी तालमेल गर्न नहुने बताएका थिए। यसपछि देउवाले पनि प्रतिप्रश्न गर्दै शेखरका प्रश्नको जवाफ फर्काएका थिए। 

'चुनावी तालमेल किन गर्ने? केका लागि गर्ने? कसरी गर्ने? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नु? सभापतिजीले नै एमाले बलियो भनेपछि कांग्रेसका कार्यकर्ताको मनोबल कसरी बढाउनु? कांग्रेसको नीति र सिद्धान्तलाई तिजाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ?,' शेखरका प्रश्नैप्रश्न थिए। 

यसपछि बोलेका गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले सरकार बन्ने बेलामै नै तीनै तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको बताएका थिए। 'त्यो सहमति कांग्रेसले तोड्न हुँदैन,' गृहमन्त्रीसमेत रहेका खाणले भने, 'तर गठबन्धनका नाममा आफ्नो संगठन अलगथलग पार्न हुँदैन।'

खाणले बोलिकसकेपछि सभापति देउवाले शेखरलाई जवाफ दिए। उनले जसरी पनि चुनावी तालमेल गर्नुपर्ने बताएका थिए। 

'म कांग्रेसको सिद्धान्त कसरी तोड्छु? माओवादीलाई मैले ल्याएको हो? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो? अहिले माओवादीलाई बोक्यो भन्ने? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन? म पनि बालबाल जितेको हुँ नि! हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन र? कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस्,' उत्तर पनि प्रश्नमा नै दिएका सभापति देउवाले थपे, 'म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ।'

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू चुनावी तालमेलको विपक्षमा भएको बताएका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा थापाले यस्तो बताएका हुन्। 

'म गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न,' महामन्त्री थापाले भने, 'देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी? अहिले हँसियाहथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त? रूख बाहेक अन्य चुनाव चिन्हमा भोट हालेका लाखौँ कार्यकर्तालाई कांग्रेसमा फर्काउन सकिन्छ?'

उनले अहिले लाखौँ कार्यकर्ता नयाँ भएको तिनलाई रुख बाहेक अन्यत्र भोट हाल्न लगाएर पछि पुनः उनीहरूलाई कांग्रेसमा फर्काउन नसकिने उनको भनाइ थियो। 'त्यसको ग्यारेन्टी सभापतिजीले लिन सक्नुहुन्छ? भोली ती नयाँ कार्यकर्ताले रूखमै भोट हाल्नछन् भन्ने के छ?  सैद्धान्तिकरूमा कांग्रेसले गठबन्धनको जस्टिस गर्न सक्दैन,' उनले भने। 

नेपालमा कम्युनिस्टबाट लोकतन्त्रलाई खतरा छ भन्ने देखाएर लोकतन्त्र बलियो भयो भनेर बस्न नहुने उनको भनाइ छ। थापाले बोल्दाबोल्दै समय सकिएको थियो। समय सकिएको जनाउ घण्टी बजेपछि उनले कुरा छोट्याएर टुंग्याएका थिए।

प्रकाशित: Mar 28, 2022| 15:41 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...