आइतबार, साउन ३१, २०८३

शेखर समूहको तरुण–विद्यार्थी भेला : शक्ति प्रदर्शन कि कुण्ठा?

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सोमबार तरुण, विद्यार्थीको राष्ट्रिय भेला आयोजना गर्दैछ। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेपछि शेखर समूहले भेला बोलाएको हो। भेला आज दिउँसो १ः३० बजे अनुपम फुडल्यान्डमा हुनेछ। 

सभापति देउवाले गत बुधबार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए। लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाको केन्द्रीय समिति फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भंग गरेको थियो। सोही बैठकले ती भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्व चयन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। 

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ। बुधबारमात्रै सभापति देउवा र नेता कोइरालाबीच टेलिफोन वार्ता भएको थियो। वार्ताका क्रममा देउवाले शेखरसँग आवश्यक सल्लाह गरेर मात्र भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए।

तर, शुक्रबारबाट सुरु हुने केन्द्रीय समिति बैठकबारे छलफल गर्न शेखर समूहको बैठक बसिरहेकै बेला देउवाले नेविसंघ र तरुण दलको नेतृत्व चयन गरिदिए। त्यसपछि शेखर समूह आक्रोशित बनेको हो। देउवा पेलेरै अघि बढ्न खोजे भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी शेखर समूहले दिइसकेको छ। शेखर समूहको उक्त बैठकले नेतृत्वले पेले प्रतिकारमा उत्रने चेतावनी समेत दिएको थियो। यद्यपि शुक्रबार बिहान बालुवाटारमा देउवाले शेखरसँग छलफल गरेका थिए। उक्त छलफलमा देउवाले सबैलाई समेटेर लैजाने प्रतिवद्धता भने व्यक्त गरेका थिए।  

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ।

यही पृष्ठभूमिमा तरुण–विद्यार्थी भेला आयोजना गरेर शेखर समूहले शक्ति प्रदर्शन गर्न खोजेको हो वा कुण्ठा पोख्न खोजेको? यो प्रश्न शेखर समूहतिरै तेर्सिएको छ। शेखर समूहको तरुण–विद्यार्थी भेलाले के निष्कर्ष निकाल्ला? नेविसंघका पूर्वमहामन्त्री समेत रहेका नेता मनोजमणि आचार्य भन्छन्, ‘पार्टी सभापतिले १० वटा भ्रातृ संस्थाका तदर्थ समिति बनाउँदा सबैसँग समन्वय गर्ने भनिएको थियो। तर, नेविसंघ र तरुण दलको नेतृत्व चयन गर्दा सोध्नुभएन। छलफल नै भएन। शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएको हो नि। भाग माग्दिनँ भनेको हो तर, स्वाभिमानका लागि, न्याय र समानताका लागि लड्नु परेन? कसैले ह्याकुलो खाने कसैले पुच्छर मात्रै खाने भन्ने हुन्छ र?’

पार्टी बलियो बनाउन आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्ने र त्यसैका भेला गरेर दबाब दिन खोजिएको उनले बताए। ‘हामीले भेला बोलाएर न कुण्ठा पोख्न खाजेका हौं, न शक्ति प्रदर्शन गर्न नै। पार्टीभित्र सबैले न्याय पाउनुपर्छ भन्ने हो। सभापति भइसकेपछि उहाँले गुट चलाउनु भएन, भोट हाल्ने र नहाल्ने सबैलाई समटेर लैजानुपर्छ,’ उनले भने, ‘पार्टीमा काम गरेका सबैले न्याय र अवसर पाउँछन् है भनेर प्रत्याभूति दिलाउनुपर्छ। त्यसका लागि नै हामीले दबाबमूलक कार्यक्रमको आयोजना गरेका हौं।’  

भ्रातृ संस्थाको तदर्थ समिति गठनबाट सुरु भएको विवादले कांग्रेसको आन्तरिक राजनीतिमा समेत ठूलो अर्थ राख्छ। स्थानीय तह निर्वाचनको मुखमै सुरु भएको विवादले टिकट वितरण हुँदै चुनावी परिणामसम्म असर गर्ने देखिन्छ। शुक्रबारदेखि जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत यो विषयले प्रवेश पाएको छ। केन्द्रीय सदस्य प्रतिमा गौतमले आइतबारको बैठकमा भ्रातृ संस्थाको तदर्थ समिति गठनको विषय प्रवेश गराएकी थिइन्।

उनले भनेकी थिइन्, ‘नेविसंघ, तरुण दल लगायतका सबै भ्रातृ संस्थाका तदर्थ समिति तुरुन्तै गठन हुनुपर्छ। विधान अनुरुप पदाधिकारी सहितको तदर्थ समिति गठन गर्नुपर्छ। पार्टीको आन्तरिक एकता खलबलिन नदिने गरी भ्रातृ संस्थाका तदर्थ समिति गठन गरियोस्।’ यद्यपि कांग्रेस बैठक चुनावी रणनीति र अन्य दलसँगको तालमेलको एजेन्डामै केन्द्रीत छ।

प्रकाशित: Mar 28, 2022| 12:03 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...