खोटाङ- गृह मन्त्रालयले आफूअन्तर्गतका निकायबाट अन्य मन्त्रालयमा सरुवा जाने कर्मचारीको सरुवा बदर गर्न पत्राचार गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै गृहले आफू मातहत काम गरिरहेको अवस्थामा समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा सरुवा भएका कर्मचारीको सरुवा बदर गर्न निर्देशन दिएको हो।
अन्यत्र मन्त्रालय वा निकायमा सरुवा हुँदा आसन्न स्थानीय तहको निर्वाचन, राष्ट्रिय परिचय–पत्र वितरण, ई–पासपोर्टलगायत काममा कार्यसम्पादनमा कठिनाइ भइरहेको भन्दै गृहले सामान्यलाई उक्त अनुरोध गरेको हो।
गृह मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन हुने कामको प्रकृति र कार्य चाप बढिरहेको सन्दर्भमा कर्मचारीको रिक्तताको कारण सेवा प्रवाहमा कठिनाई सिर्जना भएको जनाउँदै गृह मन्त्रालयले समन्वय नगरी अन्यत्र मन्त्रालय वा निकायमा आफ्नो कर्मचारीको सरुवा नगर्न गत १० असोज र ५ मंसिरमा पनि पत्र पठाएको थियो ।
मन्त्रालयले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा तल्लो पद/श्रेणी (नायव सुव्वा/खरिदार) स्तरका रिक्त पदमा दरबन्दी अनुसारका कर्मचारी खटाएर सहयोग गर्न निर्देशन दिएको छ।