आइतबार, साउन ३१, २०८३

घोषणापत्रबारे सुझाव दिन सार्वजनिक अपिल गर्ने एमालेको निर्णय

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि बनाइने घोषणापत्र र प्रतिबद्धता पत्रमा समावेश गर्ने विषयबारे सुझाव दिन सार्वजनिक अपिल गर्ने भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि बनाइने घोषणापत्र र प्रतिबद्धता पत्रमा समावेश गर्ने विषयबारे सुझाव दिन सार्वजनिक अपिल गर्ने भएको छ। आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

'स्थानीय तहको चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्रका लागि सुझाव दिन हाम्रो पार्टीले सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ,' उनले भने। 

यस्तै सत्तारुढ दल विशेषलाई अनुकूल हुनेगरी मतपत्रको रङ परिवर्तन गर्ने र उम्मेदवार मनोनयनका लागि दुई दिन समय दिने निर्णय गरेको निष्कर्ष निकाल्दै तत्काल सच्याउन निर्वाचन आयोगसँग माग गरेको छ। 

बैठकले मतदातालाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा, बढुवालगायतका काम सरकारले गरिरहेकोमा पनि बैठकले आपत्ति जनाएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

महाकाली नदीको धार नै परिवर्तन गर्ने गरी भारतीय पक्षले संरचना निर्माणको काम अघि बढाउँदा पनि सरकार मौन रहेको भन्दै एमालेले तत्काल भारतसँग वार्ता गर्न समेत माग गरेको छ। त्यहाँ संरचना निर्माण काम रोक्न लगाई आफ्नो भूमि र सीमाको सुरक्षा गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण एमालेले गराएको छ। आम उपभोक्ताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार पूर्णतः असफल भएको आरोपसमेत एमालेले लगाएको छ। 

प्रचार तथा प्रकाशन विभाग प्रमुख सुब्बाले बैठकले पार्टीको स्थानीय तह निर्वाचनको घोषणापत्र र प्रतिबद्धतापत्र निर्माणका लागि आवश्यक सुझाव दिन पनि सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिए। 

एमालेले आगामी बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर सो निर्वाचनका लागि चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्र एकसाथ सार्वजनिक गर्ने निर्णय गरिसकेको छ ।

बैठकका निर्णयबारे गुरुङ भन्छन्:-

राजनीतिक दलहरुसँग कुनै परामर्श नगरी र विना कुनै औचित्य निर्वाचन आयोगले मतपत्रको रङ परिवर्तन गर्ने र मनोनयनका लागि २ दिनको समय दिने निर्णय गरेको छ। यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकूल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ, निर्वाचन आयोगको यो निर्णय अनुचित छ । यसलाई तत्काल सच्याउन हाम्रो पार्टी माग गर्दछ । निर्वाचनको मिति घोषणा भईसकेपछि पनि सरकारले कर्मचारी प्रशासनमा अन्धधुन्ध सरुवा, बढुवा गर्नेजस्ता मतदाता प्रभावित गर्ने विभिन्न कामहरु गरिरहेको छ । 

निर्वाचनलाई प्रभावित पार्ने यस्ता खालका कामहरुप्रति हाम्रो पार्टी गम्भिर आपत्ति व्यक्त गर्दछ । महाकाली नदीको धारनै परिवर्तन गर्नेगरी दार्चुलामा भारतीय पक्षबाट एकतर्फी ढंगले गरिरहेको भौतिक संरचना निर्माणप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको राष्ट्रिय हित र भूमिसँग जोडिएको यस्ता अति संवेदनशील विषयमा सरकारको मौनता खेदजनक छ । हामी, हाम्रो पार्टी यस विषयमा तत्काल भारतसँग वार्ता गर्न र एकतर्फी संरचना निर्माण गर्ने काम रोक्न र सीमा रक्षाका लागि गम्भिर बन्न सरकारको गम्भिर ध्यानाकर्षण गर्दछ । 

आम उपभोक्ताको ढाँड सेकिने गरी भईरहेको महंगीलाई नियन्त्रण गर्न सरकार पूर्णत असफल भएको छ । स्थानीय तहको चुनावी घोषणा पत्र र प्रतिवद्धता पत्रका लागि सुझाव दिन हाम्रो पार्टीले सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।


प्रकाशित: Mar 27, 2022| 20:49 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...