आइतबार, साउन ३१, २०८३

वाङ यीको नेपाल भ्रमण : दुई देशका विज्ञप्तिमा बाझिएका तीन विषय

नेपाल सरकारले बीआरआईका विषयमा कुराकानी भए-नभएको उल्लेख गरेको छैन। चिनियाँ पक्षले भने बीआरआईका विषयमा कुराकानी भएको उल्लेख गरेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- तीन दिनको नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री आइतबार अपराह्न स्वेदश फर्किएका छन्। नेपालमा रहँदा चिनियाँ विदेशमन्त्री वाङ यी नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

परराष्ट्रमन्त्री डा. खड्का र चिनियाँ समकक्षीको मन्त्रीस्तरीय वार्तापछि दुई मुलुकबीच विभिन्‍न नौवटा समझदारी पत्रका हस्ताक्षर भएको थियो। यससँगै प्रधानमन्त्री देउवासँगको भेटपछि चिनियाँ विदेशमन्त्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए। 

द्विपक्षीय कुराकानीपछि दुबै पक्षले फरक-फरक विज्ञप्ति जारी गरेका छन्। यसअघि दुईपक्षीय भ्रमण हुँदा दुवै देशले संयुक्त रूपमा विज्ञप्ति जारी गरी भएका प्रगतिबारे जानकारी गराउने अभ्यास भएपनि यो भ्रमणमा दुवै देशले आआफ्नै पक्षबाट विज्ञप्ति जारी गरेका छन्। दुवै देशका विज्ञप्तिमा आफ्नो पक्षलाई बलियो देखाउने गरी छलफल भएको दाबी गरिएको छ। बीआरआई, हिमालपार कनेक्टिभिटी नेटवर्क र सीमाको विषयलाई फरक-फरक रुपमा प्रस्तुत गरिएको छ। 

नेपाल सरकारले बीआरआईका विषयमा कुराकानी भए-नभएको उल्लेख गरेको छैन। चिनियाँ पक्षले भने बीआरआईका विषयमा कुराकानी भएको उल्लेख गरेको छ। द्विपक्षीय वार्ता र समझदारीका विषयमा दुवै पक्षले जारी गरेका फरक-फरक विज्ञप्ति फरक-फरक प्रस्तुत हुँदा द्विपक्षीय रुपमा भएको वार्तामा भएका वास्तविक छलफलका विषयमा पनि आशंका उब्जिन थालेका छन्। 

चिनियाँ विदेशमन्त्रीले नेपाललाई आफ्नो राष्ट्रिय परिस्थिति अनुरूप विकासको गति अघि बढाउन, स्वतन्त्र आन्तरिक तथा विदेश नीतिहरू अवलम्बन गर्न र बेल्ट एन्ड रोड सहकार्यमा सहभागी हुने कुराको समर्थन गर्ने बताएको उल्लेख गरिएको छ। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बेल्ट एन्ड रोड निर्माणमा नेपालको गहिरो सहभागितालाई चीनले समर्थन गर्छ। विगतका केही वर्षमा दुई देशले नेपालको राष्ट्रिय निर्माणलाई बलियो समर्थन गर्ने बेल्ट एन्ड रोडको संयुक्त निर्माणमा सन्तोषजनक प्रगति गरेका छन्।' 

तर, नेपालको परराष्ट्र मन्त्रालयले भने बीआरआईको विषयमा एक शब्द पनि खर्चेको छैन। त्यसैगरी चिनियाँ विदेश मन्त्रालयले नै राष्ट्रपतिसँगको भेटका क्रममा पनि बीआरआईको विषयका कुराकानी भएको जनाएको छ। उक्त विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्राप्त उपलब्धिहरुलाई कार्यान्वयन गर्न नेपाल पक्ष इच्छुक छ। यससँगै बेल्ट एन्ड रोडको संयुक्त निर्माण र दुई मुलुकबीचका पहाड र नदीहरुलाई एकापसमा जोडिने संयन्त्रको रुपमा प्रयोग गर्न पनि नेपाल पक्ष तयार छ।' 

नेपाल पक्षले भने राष्ट्रपति भण्डारीसँग चिनियाँ विदेशमन्त्रीले गरेको भेटका विषयमा भएका कुराकानीबारे पनि परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी गराएको छैन। त्यसैगरी चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा 'हिमालपार बुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माण गर्ने' विषयमा पनि कुराकानी भएको जनाएको छ। 

यता नेपाल पक्षले जारी गरेको विज्ञप्तिमा सीमा सन्धिको मर्मअनुसार नेपाल-चीन सीमामा शान्ति कायम गर्ने महत्त्वलाई जोड दिँदै दुवै परराष्ट्रमन्त्रीले आपसी परामर्शबाट नेपाल-चीन सीमाको संयुक्त निरीक्षण गर्न सहमति भएका उल्लेख गरिएको छ। तर, चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा भने सीमाको विषयमा भएको कुराकानीबारे केही पनि उल्लेख गरेको छैन।

प्रकाशित: Mar 27, 2022| 20:30 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...