काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाने भएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उनी सोमबार रोल्पा जान लागेका हुन्।
प्रचण्ड हेलिकप्टरबाट सोमबार बिहान १० बजे सदरमुकामस्थित आर्मी ब्यारेकमा अवतरण गर्नेछन्। त्यसपछि उनी सात्दोबाटो जाने कार्यक्रम छ। सात्दोबाटोमा प्रचण्डले जनयुद्ध स्मृति भ्युटावरको उद्घाटन गर्ने रोल्पा नगरपालिकाका मेयर पुरण क्षेत्रीले नेपाल समयलाई जानकारी दिए। उनले भने, ‘प्रचण्ड कमरेडले सात्दोबाटोमा बिहान ११ बजे भ्युटावर उद्घाटन गरेर लिवाङ झर्नुहुनेछ।’
लिवाङ झरेपछि प्रचण्डले पार्टीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रम दिउँसो १ बजेदेखि टुँडीखेलमा सुरु हुनेछ। उक्त कार्यक्रम सकेपछि प्रचण्ड पुनः हेलिकप्टरबाट काठमाडौं फर्कने छन्।
करिब २७ वर्ष पहिले रोल्पालाई नै आधार इलाका बनाएर प्रचण्डले १० वर्षे शसस्त्र संघर्षको नेतृत्व गरेका थिए। उनी सात वर्षअघि रोल्पा पुगेका थिए।