आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बीआरआईका परियोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

बीआरआईका परियोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका  भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ। 

नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो। 

नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको शिष्टाचार भेटका क्रममा उक्त अनुरोध गरिएको हो।  माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिए।

सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीन विरोधि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए।  नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो। 

नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो। कोरोनाका कारण नाका सहज नहुँदा व्यापार घाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिए। कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो। 

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताए। भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ललगायतको सहभागिता थियो।

प्रकाशित: Mar 27, 2022| 13:23 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...