वसन्तपुरको घुइँचोमा हातभरि नेपालको झण्डा बेच्दै गरेका एक वृद्ध टाढैबाट चिनिन्छन्। उनी हुन्, २०३५ सालदेखि दरबार क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा बेच्दै आइरहेका प्रेमलाल श्रेष्ठ।
उमेरले ७८ वर्ष पुगेका प्रेमलाल प्रत्येक दिन खाना खाएर झण्डा बेच्न दरबार क्षेत्र आइपुग्छन्। प्रायः काल भैरवको मूर्तिअगाडि बसेर नेपालको राष्ट्रिय झण्डा बेच्दै आएका छन्।
दिनभरि बस्दा पनि कहिलेकाहीँ त एउटा पनि झण्डा नबेची फर्किनुपरे पनि उनी बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन्। ‘कहिले आठ–दश वटा पनि बिक्छ, कहिले एउटा बिक्दैन’ उनले सुनाए, ‘टाढाबाट आएका नेपाली र विदेशीले बढी किन्छन्। सधैं घुम्न आउनेले वास्ता गर्दैनन्।’
भक्तपुर घर भएका उनी अहिले बानेश्वरमा परिवारसहित बस्दै आएका छन्। यद्यपि उनको अधिकांश समय वसन्तपुर–नयाँ सडक क्षेत्रमा बित्छ। पाँच दशकयता वसन्तपुरको अवस्थाका भुक्तभोगी हुन् उनी।
वर्षौंदेखि वसन्तपुरलाई नियालिरहेका उनी सुनाउँछन्, ‘कोरोनाको महामारी बढेपछि त पर्यटक एकदमै पातलिएका छन्। तर न्युरोडको भिड भने पहिला र अहिले उस्तै छ।’
त्यही न्युरोडको भीडमा गुमनाम हुनेहरूको जीवन पनि प्रेमलालले देखेका छन्। गाउँमा काम गर्न नसक्ने भएपछि वसन्तपुर–असनमा भारी बोक्न, चिया पकाउन आउने वृद्धहरू भेटेका छन्। भ्याएसम्म सबैसँग हाँसेर कुरा गर्छन्, गल्लीका तिनै अँध्यारा चिया पसलबाट खाजा मगाएर खान्छन्।
प्रेमलाललाई न्युरोडको विगत पनि थाहा छ। जुद्ध शमशेरले बनाएको न्युरोड २००७ पछि गुलजार बन्न थालेको बताउँदै उनी भन्छन्, ‘पहिलोपटक फुटपाथमा झण्डा बेच्न थालेको मैले नै हो। पहिले मछिन्द्र बहालको पार्टीमा मात्र सामान बेच्ने गर्थें। अन्त कतै पनि फुटपाथ राख्ने गरेको थिएन।’
दिनभरि बस्दा पनि कहिलेकाहीँ त एउटा पनि झण्डा नबेची फर्किनुपरे पनि उनी बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन्। ‘कहिले आठ–दश वटा पनि बिक्छ, कहिले एउटा बिक्दैन’ उनले सुनाए, ‘टाढाबाट आएका नेपाली र विदेशीले बढी किन्छन्। सधैं घुम्न आउनेले वास्ता गर्दैनन्।’
फुटपाथमा झण्डा बेचेर गुजारा चलाउन सक्ने अवस्था नरहेको उनको अनुभव छ। दिनको दुई–तीनवटा बेच्न पनि उनलाई मुस्किल छ। त्यो पनि स–साना नानीहरु आमाबुबालाई झगडा गरेर किन्न लगाउँछन्।’ संविधान दिवस, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा नेताहरु झण्डा बन्ने ठाउँबाट होलसेलमा लान्छन्। अरुलाई खासै झण्डा किन्ने चासो हुँदैन।
बेलुका घर फर्केपछि मोबाइलमा देशविदेशको समाचार हेर्छन् प्रेमलाल। रुस र युक्रेनबीचको युद्धका बारेमा पनि उनलाई चासो छ। युद्ध चाँडै सकिएर सबैले शान्तिपूर्ण बाँच्न पाएको सुन्न पाइयोस् भन्ने लाग्छ उनलाई।
मछिन्द्र बहालबाट झण्डा किनेर दश–बिस रुपैयाँ नाफा गरेर बेच्छन् उनी। गर्मी लागेपछि दिउँसो घुम्न आउने मानिस पातलिएका छन्। त्यही भएर उनको व्यापार पनि जाडोको तुलनामा घटेको छ। कोहीचाहिँ झण्डासँग फोटो खिच्न माग्छन् र चिया खाने पैसा दिएर जान्छन्। देशभक्तिका गीत बजाएर झण्डा फहराउँदै टिकटक बनाएको हेर्दा उनलाई पनि रमाइलो लाग्छ।
विदेशी पर्यटक पनि नेपालको झण्डा देखेपछि फोटो नखिची रहन सक्दैनन्। संसारभरिका झण्डाहरूमा नेपालको झण्डा फरक छ। अन्य देशको जस्तो चारकुने नभई यो तीनकुने आकारको छ। त्यसैले विदेशी पर्यटकका लागि नेपालको झण्डा अवलोकनको पनि विषय हो।
प्रेमलाललाई नेपालका नेताहरु भन्नेबित्तिकै सूर्यबहादुर थापा, बिपी कोइराला र बलबहादुर थापाको नाम याद आउँछ। उनी भन्छन्, ‘अहिलेका नेताहरुले देशको भलोको काम केही गरेकै छैनन्। बरु राजाकै पालामा देशको अवस्था ठिक थियो।’ अबको चुनावमा राजेन्द्र लिङ्देन र केपी ओलीको भविष्य राम्रो छ जस्तो उनलाई लाग्छ।
स्थानीय तहको चुनाव वैशाख अन्तिममा हुन लागेको उनलाई थाहा छ। चुनावमा मतदान गर्ने कर्तव्य सबै नागरिकको रहेको बुझेका छन् उनले। ‘भोट हाल्न पाउने अधिकार छ सबैलाई। सही जनप्रतिनिधि छान्ने दायित्व हाम्रै हो। चुनावमा भोट हाल्न म पनि घर जान्छु’, टोपीले पसिना पुछ्दै उनी बताइरहेका थिए।
सडकमा संघर्ष गरिरहेका विभिन्न पात्रहरुसँग अब हामी नियमित संवाद गर्नेछौं। –सम्पादक