ठमाडौं– शुक्रबार राति मिठो निन्द्रामा थिए बालाजुवासी। दुई बजेतिर एक्कासि औद्योगिक क्षेत्रमा कोलाहल मच्चियो। साइरन बजाउँदै दमकल कुद्न थाले।
सबैको निन्द्रा खलबलियो। उठेर हेर्दा बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगो दन्किरहेको थियो। ८ वटा दमकल, २० वटा पानीका ट्यांकर, सुरक्षाकर्मी र स्थानीय आगो नियन्त्रणमा जुटे। तर, बिहानको साढे ८ भइसक्दा पनि आगो नियन्त्रणमा आउन सकेको छैन।
अहिले आगो नियन्त्रणका लागि हेलिकप्टरको समेत सहयोग लिइएको छ। शनिबार बिहान दुई बजेदेखि लागेको आगोका कारण तीन भवन पूर्ण रुपमा जलेर नष्ट भइसकेका छन्। स्थानीय गौरी देवकोटाका अनुसार अझै आगोको मुस्लो घटेको छैन। 'हामी मस्त निन्द्रामा थियौं। एक्कासि होहल्ला बढ्यो। रातभर नै दमकल दगुरिरहे। बिहान हेर्दा त नेबिको बिस्कुट कारखाना जलेर खरानी भइसकेको रहेछ,' उनले नेपाल समयसँग भनिन्।
देवकोटाका अनुसार कम्पनीका कर्मचारीले आइस्टेज खोस्टा जलाउने गरेका थिए। त्यसले दुर्गन्ध फैलाउँथ्यो। स्थानीयले विरोध गरेपछि उनीहरूले राति जलाउने गरेका थिए। आगलागीको कारण त्यही हुन सक्ने अनुमान गरिएको छ। कम्पनीले चिम्नी बनाएको भए पनि त्यसको पूर्ण सदुपयोग नगरेको उनको गुनासो छ। औद्योगिक क्षेत्रभित्र नेपाल ग्यास उद्योग कम्पनीसमेत रहेकाले आफूहरू निकै त्रासमा रहेको उनले बताइन्।

गंगा खतिवडा पनि आगलागी भएको ठाउँ नजिकै बस्छिन्। उनी त झनै औद्योगिक क्षेत्रभित्र रहेको किरण सुज उद्योगमा काम पनि गर्छिन्। आफूले काम गर्ने औद्योगिक क्षेत्रभित्र भएको आगलागीले उनको मन निकै आत्तिएको छ।
'माथि हेलिकप्टर उडिरहेको छ। अझै मानिसको भीडभाड छ। अवस्था तनावग्रस्त नै छ। हामीलाई पनि आगलागी कतिखेर नियन्त्रणमा आउला भनेर चिन्ता लागिरहेको छ,' उनले भनिन्।
सिम्रिक एयरको हेलिकप्टर आगो नियन्त्रणमा खटिरहेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणमा नआएकाले क्षतिको विवरण आइसकेको छैन। प्रहरीका अनुसार आगलागीको कारण पनि खुल्न सकेको छैन।