काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई चुनाव जिताएर देश बन्छ भन्नु मुर्खता मात्रै हुने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली कांग्रेसका नेताहरुलाई चुनौतीसमेत दिएका थिए।
आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने उनको टिप्पणी छ। राप्रपाले ५ वर्ष मात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने उनको दाबी छ।
लिङदेनको बाँकी भनाइ जस्ताको तस्तै
आउने चुनावमा जानिजानि यस्ता भ्रष्ट नेताहरुलाई भेट नदिनुस् भन्न आएको हो। तपाईले खुकुरी, तरवार चलाएको भन्दा ठूलो सजाय त्यही हुन्छ। गन्दा थाहा पाउन्, बर्बाद भएछ। हामी सामान्य नागरिक भएर सोचौँ, कुनै दलको व्यक्ति भएर होइन। यिनै नेता यिनै पार्टी भनौँ, त्यति भन्दा तपाईले बुझिहाल्नु हुन्छ, दिनमा १२ पटक राजेन्द्रले हाम्रो नाम लिएर बसिरहेको छ भन्लान्।पाँच औँलाभन्दा बढ्ता छैनन्।
नेकपा एमाले, नेकपा माओवादी र नेपाली काँग्रेसका त्यति नै नेतालाई हामीले कति समय थपिदियो भने देश विकास हुन्छ? बडो आदारपूर्वक भनौँ, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देशबन्छ?
अब बेला आयो, वैशाख ३० गते स्थानीय तहको निर्वाचन छ। अबको एक वर्षभित्र प्रदेश तथा प्रतिनिधिसभाको पनि निर्वाचन हुन्छ। हाम्रो हातमा शक्ति फर्केर आउँदैछ। यसको पूर्णरुपले सदुपयोग गरौँ। साँढेको टाँगमुनि बाल्टी थापेर दुध पाइँदैन। साँढेको टाँगमुनि बाल्टी लिएर गएर साँढेले दुध दिएन भनेर साँढेलाई सुम्सुम्याएर दुध दिन्छ र ? पिटे पनि दुध दिँदैन। किनभने साँढेको धर्म नै दुध दिने होइन, आज यी पार्टीहरु त्यही भए। यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन्। यिनीहरुको दिमाग बाँझो भइसक्यो। अब त्यो उर्भरता आउनेवाला छैन। अब हामीलाई पर्खने छुट र सुविधा छैन। आउने संसदीय चुनावमा मात्र होइन, एक पटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई काठमाडौं महानगरको नै जिम्मा दिएर हेर्नुहोस्, हामी आफूले जितेका स्थानीय तहमा काम गरेर यिनीहरुले देश पाए कस्तो देश बनाउने रहेछन् भन्ने हिसावले त्यहाँबाट काम गर्छौं।