काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका पाखुरा देखेरै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छक्क परेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित नेकपा(एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुष्ठ रुपमा आएपनि एमालेले नै जित्ने दाबी गरेका हुन्। एमालेसँग अन्य पार्टी डराएको समेत उनले बताए।
अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे।
‘मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गर्या छैन चुनावमा। अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन। शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो,' ओलीले थपे, 'नेपाली कांग्रेसको केन्द्रमा टुप्पामा बसेर टुप्पाबाट हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँले छक्क पर्नुभयो। तलतलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरी देख्या छु मैले एमाले देशभरी छ। चुनावमा नचिताए हुन्छ कसैले। पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरु छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन। नेकपा(एमाले) एक्लै चुनाव लड्न सक्छ, जित्न सक्छ।'
अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको दाबी गरेका थिए। सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उनको आरोप थियो। माओवादी नक्कली राष्ट्रवादीको भएको उनको भनाइ छ।