काठमाडौं- जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातिक आक्रमण गरेको आरोप लगाएको छ। सर्लाहीको ईश्वरपुर नगरपालिकामा शनिबार बिहान जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो।
उक्त आक्रमणमा साहको टाउकोमा गम्भीर चोट लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाउँदै दोषीमाथि कारबाही माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'उक्त घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ।'
पार्टी कामको सिलसिलामा गृहजिल्ला पुगेका साहमाथि सुनियोजित ढंगले आक्रमण भएको र त्यसमा एमाले दर्जनौं कार्यकर्ता संलग्न रहेको जसपाको आरोप छ।
के थियो घटना?
फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो। सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो।
सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए। दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो।
झडपका क्रममा गरिएको ढुंगा प्रहार सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो।