काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीसँग डराएर गठबन्धन गर्न लागेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन्।
उनले अन्य पार्टीहरु एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको आरोप लगाए। सबै पार्टीहरु एकातिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा(एमाले)को साथमा रहेको उनको जिकिर थियो ।
उनले भने, ' प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गर्नुको मुख्य कारण एमालेको पाखुरा देखेर छक्क परेका छन्। त्यसकारण योसँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन्। मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गरेको छैन चुनावमा। अरु त त्यस्तै हो नेपाली कांग्रेस सभापतिहरुको सम्मेलन बोलाउँछ, त्यसमा सभापतिहरुले भने यसो गर्नु हुँदैन। शेरबहादुर देउवाजीले कांग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो।'
उनले गठबन्धनमा भएका पाँच वटा दल मात्रै नभएर दर्ता भएका सबै पार्टीहरु एकमुष्ट आए पनि एमालेलाई केही फरक नपर्ने उनले चेतावनी दिएका थिए। यस्तै एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको उनले बताएका थिए।
उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको जिकिर गरे। एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोरमात्र गर्ने गरेको ओलीकाे भनाइ छ।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन्। भोलि यो काम गर्छु भन्न पनि सक्दैनन्। खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे’, उनले भने, ‘जनकपुर–रेल किन चलायौं भन्ने होला। नेपालमा किन रेल कुदायौं भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’