काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेशमन्त्री यीको नेपाली समकक्षी खड्कासँग वार्ता सुरु भएको हो।
चिनियाँ विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा. खड्काबीच शनिबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता सुरु भएको हो।
सामान्यतः विदेशका परराष्ट्रमन्त्री नेपाल आउँदा समकक्षीबीच परराष्ट्र मन्त्रालय वा बाहिर कुनै होटलमा भेटवार्ता हुने चलन भए पनि यसपटक मन्त्री खड्का र वाङबीच प्रधानमन्त्री कार्यालयमा वार्ता भएको हो।
वान टु वान वार्ता सकिएपछि परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच प्रतिनिधिमण्डल स्तरमा छलफल हुनेछ। प्रतिनिधिमण्डलको वार्ता सम्पन्नपछि नेपाल र चीनबीच कम्तीमा १० वटा समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ।
केरुङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे-केरुङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात र भरतपुर अस्पतालमा चीनको सहयोगलगायत विषयमा सहमति तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो।
प्रतिनिधिमण्डल स्तरको वार्तामा परराष्ट्र, अर्थ, गृह, पर्यटन, ऊर्जा, भौतिक योजना, कृषि, उद्योग, भूमिसुधार र स्वास्थ्य मन्त्रालयका सचिव सहभागी हुनेछन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि बैठकमा सामेल हुनेछन्।
परराष्ट्रमन्त्री खड्काले चिनियाँ विदेशमन्त्रीको स्वागतमा शनिबार साँझ ७ः३० बजे होटल द्वारिकाजमा रात्रीभोज दिनेछन्। यसअघि विदेशमन्त्री वाङ यी शनिबार बिहान शिवपुरीमा हाइकिङका लागि गएका थिए।