बुटवल- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्ने कि बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरु गहुँ काट्न खेतमा निस्किएका छन्। चैत ५ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी बैठकमा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को प्रस्तावमा केन्द्रीय नेताहरुले धारणा राखेपछि ‘जनकम्युन’मा नेताहरुले गहुँ काटेका हुन्।
बिहीबार महासचिव विप्लवको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि नेकपा केन्द्रीय कार्यालयले सञ्चालन गरेको ‘जनकम्युन’ मा गहुँ काट्न निस्केका हुन्।
शुक्रबार हालसम्म केन्द्रीय सदस्यहरूले राखेको धारणा र महासचिवको प्रतिवेदनलाई निर्णायर्थ पेस गर्न सचिवालयको बैठक बसेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।
विप्लवले नेपाल सरकारले पारित गरेको एमसीसी परियोजना, पार्टी जीवनलाई कसरी अगाडि बढाउने र असन्न स्थानीय तहको निर्वाचनबारे बैठकमा प्रतिवेदन पेस गरेका छन्। ‘महासचिवको प्रस्तावमा घनिभूत छलफल भयो, त्यसपछि एकताको सन्देश र कम्युनिस्ट पार्टी उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश सहित केन्द्रीय कार्यालयले लगाएको गहुँ काट्न खेतमा निस्केका हौं,’ ती सचिवालय सदस्यले भने। नेकपा महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषमसहितका नेताहरूले गहुँ काटेका हुन्।
नेकपाले कपिलवस्तुको शिवगढीमा करिव ७ बिगाहा क्षेत्रफलमा खेती गर्दै आएको छ। केन्द्रीय कमिटि बैठकमा सहभागीहरुले त्यही जनकम्यूनमा उत्पादन भएको खाना खाएका छन्।
चुनाव उपयोग गर्ने निति पारित गर्ने सम्भावना
६ दिनदेखि शिवगढीमा जारी बैठक शनिबार सम्पन्न गर्ने तयारीमा रहेको केन्द्रीय कार्यालयले जनाएको छ। केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठकमा केन्द्रीय नेताहरुले धारणा राखेर विहिबार सम्पन्न भएकाले शनिबार महासचिवले सम्बोधन गर्नेछन्।
शुक्रबार दिनभर सचिवालय बैठक र महासचिव प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि नेताहरु छलफलमा व्यस्त छन्। उनका अनुसार बैठकमा ६५ केन्द्रीय सदस्य र ४ जना सल्लाहकार सहित ६९ जनाको सहभागिता छ। बैठकमा महासचिवले स्थानीय तहको चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेपछि पार्टीभित्र यस बिषयमा पक्ष र विपक्षमा नेताहरु विभाजित भएका छन्।
२०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनाव उपयोग गर्ने नीति पारित हुने एक केन्द्रीय सदस्यले बताए। चुनाव बहिष्कार गर्दा क्रान्तिकारी र उपयोग गर्दा सुधारबादी हुने भाष्यका कारण नेताहरुमा केही नेताहरुले विरोध गरेको उनको भनाइ छ। संसदीय चुनाव बहिष्कार गरेपनि स्थानीय तहको चुनावलाई उपयोग गर्ने गरि छलफल अगाडि बढेको छ।
स्रोतका अनुसार स्थानीय तहलाई उपयोग गरेर आफू अनुकुलको नमूना गाउँपालिका बनाउन सक्ने भएकाले चुनावमा नेकपाले उपयोग गर्ने निर्णय लिने छ। रिपोर्टिङको सार र राजनीतिक प्रतिवदेनमाथि उठेका प्रश्नको शनिबार विप्लवले जवाफ दिएपछि बैठक सकिने छ।