काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई फाइदा हुने गरी चुनवी तालमेलका विषयमा निर्णय हुने बताएका छन्। शुक्रबार भएको पार्टी केन्द्रीय समितिको बैठकपछि संक्षिप्त कुराकानी गर्दै प्रवक्ता डा महतले यस्तो बताएका हुन्।
'जे गर्दा पार्टीलाई फाइदा हुन्छ, त्यही गर्ने हो,' प्रवक्ता महतले भने, 'स्थानीय तहमा अपवादका रूपमा आवश्यकताका आधारमा अन्य दलसँग पनि गठबन्धन हुन सक्ला।'
उनले चुनावी तालमेलका विषयलाई नेताहरूले नै विवादित बनाउन खोजेको समेत आरोप लगाए। सभापति शेरबहादुर देउवाले कुनै पनि निर्णय लाद्न नखोजेको समेत उनको टिप्पणी थियो।
'साथीहरूले यथार्थ राखिरहनुभएको छ। बलियो ठाउँमा एक्लै लडौँ, कमजोर ठाउँमा गठबन्धन गरौँ भन्ने आएको छ। निर्णय लाद्न खोजिएको भनेर भ्रम छर्न खोजिएको छ। भर्खर त छलफल भइरहेको छ। निर्वाचनमन कसरी बढी भन्दा बढी फाइदा हुन्छ भनेर हेर्ने हो,' प्रवक्ता महतले भने, 'सभापतिले लाद्ने कुरा कहाँ गर्नु भएको छ? केन्द्रीय समितिको निर्णय लाद्न खोजेको हो? पार्टी सभापतिले कुनै काम लादेर गर्नु भएको छैन। बैठकले सर्वसम्मत निर्णय हुन्छ। स्थानीय तहमा अपवादका रूपमा आवश्यकताका आधारमा अन्य दलसँग पनि गठबन्धन हुन सक्ला। जे गर्दा पार्टीलाई फाइदा हुन्छ, त्यही गर्ने हो।'
उनले पहिले भातृसंस्थामा पदाधिकारी चयन गर्ने अधिकार सभापतिलाई दिइएको तर पछि विवाद निकाल्न खोजिएको समेत टिप्पणी गरे। 'भातृंस्थाको विषयका पहिले पार्टी सभापतिले निर्णय लिने भनेको हो। दुई संस्थामा नेतृत्व चयन गरिएको हो। समितिले पूर्णता पाएको छैन। छलफल गरेरै पूर्णता दिने हो,' डा महतले भने।