काठमाडौं– नेपालविरुद्ध कीर्तिपुरको क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) ले निकै आक्रामक ब्याटिङ गर्दै २९३ रनको विशाल लक्ष्य प्रदान गर्यो। पीएनजीका कप्तान आसाद भाला र चार्ल्स अमिनीले सानदार ब्याटिङ गरेपछि नेपालले २९३ रनको लक्ष्य पाएको थियो।
तर नेपालले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २८६ रन मात्र बनाएपछि नेपालले पीएनजीसँग ६ रनको हार बेहोरेको हो। जवाफी ब्याटिङमा नेपाली साइटबाट तीन कीर्तिमान बने।
आजको खेलमा आरिफ शेख र रोहित पौडेलले कीर्तिमानी साझेदारी गरेका छन्। उनीहरुले यसअघि रोहित र आरिफले नै बनाएको १०० रनको साझेदारी तोड्दै उनीहरुले १०४ रनको साझेदारीको कीर्तिमान बनाएका हुन्।
त्यस्तै रोहित पौडेलले दुई व्यक्तिगत कीर्तिमान बनाए। रोहित पौडेलले एकदिवसीय क्रिकेटमा पहिलो सतक मात्र प्रहार गरेका छैनन्, उनले एकै पारीमा सबैभन्दा धेरै रनसमेत बनाए। उनले शुक्रबार त्रिवि क्रिकेट मैदानमा करिअरको पहिलो सतक प्रहार गर्दा पारस खड्काले बनाएको रेकर्ड तोडे। ७० बलमा सतक पूरा गरेका रोहित १०६ बलमा १२६ रन बनाउँदै पेवेलियन फर्किए।
यसअघि पारसले सर्वाधिक ११५ रन बनाएका थिए। एकदिवसीय क्रिकेटमा सतक बनाउने रोहित दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्काले पनि एक दिवसीयमा सतक प्रहार गरेका थिए। पारसपछि सतक हान्ने रोहित पाहिलो खेलाडी हुन्।
पारसले २८ जनवरी २०१९ मा अर्धसतक बनाएका थिए। उक्त खेलमा नेपालले त्यो सबैभन्दा धेरै १५४ रनको लक्ष्य पाएको थियो। त्यसपछि अहिलेसम्म नेपालले पाएको सबैभन्दा धेरै रनको लक्ष्य पनि आजकै हो। र, यो खेलमा रोहितले सतक बनाएका हुन्। पारसले सतक बनाउँदा यूएईले नेपाललाई दिएको लक्ष्य नेपालले पूरा गरेको थियो भने आज नेपालले लक्ष्य पूरा गर्न सकेन।
त्यस्तै, रोहितले एकदिवसीय त्रिकेटमा ज्ञानेन्द्र मल्लले बनाएको रेकर्ड पनि तोडेर आफ्नो रेकर्ड कायम गरे। मल्लले बनाएको ४८० रनको रेकर्ड तोड्दै उनले आफ्नो कीर्तिमान कायम गरेका हुन्। अहिले रोहित पौडेलको नाममा ५८८ एकदिवसीय रन रहेको छ।
रोहितले अर्धसतकमा पनि ज्ञानेन्द्र मल्लको रेकर्डसँग बराबरी गरिसकेका छन्। यी दुवै खेलाडीले नेपालका लागि चार अर्धसतक प्रहार गरेका छन्। आजको खेलमा अनिल शाह, देव खनाल र कुशल भुर्तेल आउट हुँदा नेपाल ९ ओभरमा ४५ रन बनाएर तीन विकेट गुमाई खराब अवस्थामा थियो। खेलको १३ औं ओभरमा दिपेन्द्र पनि पेवेलियन फर्किएपछि नेपालको खातामा ७३ रन मात्र थियो।
त्यसपछि आरिफ शेख र रोहितले नेपालको साख जोगाए। तर ३४ रन बनाएका आरिफ भालाको हातबाट आउट भएपछि नेपालको ब्याटिङ एकपटक खतरामा पुगेको थियो। त्यो किनभने भीम सार्की १७ रनमै आउट भए भने त्यो समयमा ११९ रन बनाउँदै रोहित पौडेल पनि आउट भए।
४४ औं ओभरमा रोहित आउट हुँदा नेपालले २४२ रन बनाएर सात विकेट गुमाइसकेको थियो। त्यो बेलामा नेपाललाई ३८ बलमा ५१ रनको अवश्यकता थियो। जहाँ पवन सर्राफले सात रन बनाए भने सोमपाल कामीले १८ रनको योगदान दिए। कमल सिंह ऐरीले पनि १८ रन बनाए।
पीएनजीका नोर्मान भानुवाले ३, चार्ल्स अमिनीले २, असाद भालाले २ र नोसाइना पोकनाले एक विकेट लिए। पहिलो पारीमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरी र सोमपाल कामीले समान दुई–दुई विकेट लिए। नेपाली बलरविरुद्ध पीएनजीका सबैजसो खेलाडीले खुलेर खेले। यससँगै पीएनजीले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २९२ रन बनायो।
खेलको सुरुबाट सानदार ब्याटिङ गरेका पीएनजीले खेल अवधिभर पाँचभन्दा धेरैको रन रेट कायम राखेको थियो। ओपनिङ राम्रो साभेदारी बन्न नसके पनि दोस्रो विकेटका लागि टोनी उरा र आसादले ४९ रनको साझेदारी गरेका थिए। त्यो अवस्थामा टोनी ३८ रन बनाएर आउट भएका थिए।
खेलमा ५५ बलको सामना गर्दै ६० रन जोडेका कप्तान असादले चार्ल्स अमिनीसँग पनि ७४ रनको सानदार साझेदारी गरेका थिए। खेलमा रेली हेकुरेले ३१ रन बनाए। चौथो नम्बरमा मैदान प्रवेश गरेर ४५ ओभर दुई बलसम्म टिकेका चार्ल्स अमिनीले १०३ बलमा ७७ रनको योगदान दिए। खेलमा नोर्मन वाउनाले पनि २८ बलमा ४७ रनको पारी खेले भने ज्यासन कियाले पनि १३ रन बनाए।
नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखे मात्र किफायति बलिङ गर्न सकेनन्। दिपेन्द्रले १० ओभरमा दुई विकेट लिँदै ३० रन खर्चिए भने आरिफले ६ ओभर बलिङ गर्दै २३ रन दिए।
सोमपाल कामीले पनि नौ ओभरमै ८१ रन प्रदान गरेका थिए। यद्यपि उनले दुई विकेट भने लिए। नेपालका पवन सर्राफ र सन्दीप लामिछानेले पनि समान १–१ विकेट लिए।