आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधवकुमार नेपाल

ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निवास जाने गरेका छन् : माधवकुमार नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्। अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका हुन्। 

'यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागि परेका छन्। तर उनी पनि गठबन्धन गर्दैछन्, कोसँग थाहा छ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्। राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्,' नेपालले भने, 'विदेशीहरुसँग दलाली गर्ने पार्टीहरुसँग तालमेल गर्न खोजिरहेका छन्। किनभने उनीहरु दक्षिणपन्थी शक्ति हुन्। दक्षिणपन्थी शक्तिहरु उनीहरुसँग मिल्छन्। हामी वामपन्थी, लोकतान्त्रिक शक्ति हौं। लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुसँग मिलेर अघि बढछौं।'

अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरेका थिए। आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ छ। 

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार व्यक्त गरेका थिए। आफूहरू कांग्रेसको संस्थागत निर्णयको पर्खाईमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको जिकिर गरेका थिए। 

'शेरबहादुरजीले पटकपटक भन्नु भएको छ– यो गठबन्धन सँगसँगै हामी चुनावमा जानेछौं। अब पार्टीले नै के निर्णय गर्छ, हामी पर्खेर बसिरहेका छौं। हामी आफ्नो शक्तिको बलमा अगाडि बढ्न चाहन्छौं । चुनाव वैशाखको ३० गते नै हुन्छ। त्यसमा तपाईहरु अलमलमा पर्नुपर्ने आवश्यकता छैन,' नेपालले भने। 

प्रकाशित: Mar 25, 2022| 16:03 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...