काठमाडौं– दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग एक्लै कुरा गरेका छन्। कोइराला र देउवाबीच आज बिहान ९ बजे वान टु वान वार्ता भएको हो।
उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई लिएर बालुवाटार जाने तयारीमा थिए शेखर। तर उनकालाई उनकै समूहका नेताहरूले वान टु वान गर्न सुझाव दिएको शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
भेटमा शेखरले देउवासँग भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सल्लाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले भने शेखर समूहले भ्रातृ संस्थाका समानन्तर समिति बनाउने समाचार बाहिरिएको भन्दै चासो राखेका थिए। जवाफमा कोइरालाले ‘एकलौटी गर्ने हो भने सडकमा जानुपर्ने र समानान्तर समिति बनाउने कुरा साथीहरूले गरेको’ बताएका थिए।
उनले देउवालाई पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न र सबैका कुरा सुन्न सुझाव दिएका थिए। देउवाले भ्रातृ संस्था लगायतका विषयमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र सबैलाई समेटेर लैजाने प्रतिबद्धता व्यक्त गरेको शेखर निकट स्रोतले जानकारी दियो।
चौधौं महाधिवेशनपछि कोइराला र देउवाको यो दोस्रो भेट हो। गत मंसिर अन्तिममा भएको महाधिवेशनमा कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए।
उक्त समूहले भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि जनाउँदै तरुण विद्यार्थी भेला बोलाएको छ। उक्त समूहले १४ चैतमा भेला बोलाएको हो।
कोइराला समूहका नेता रन्जित कर्णका अनुसार भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुनेछ।
यसअघि आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका थिए केन्द्रीय समितिको बैठक सुरु हुने तयारी भइरहेका बेला कार्यकर्ताहरुले ‘देउवा प्रवृत्ति अन्त्य गर’ भन्दै विरोध प्रदर्शन र नाराबाजी गरेका हुन्।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले विरोध गरेको हो। दुई दिनअघि सभापति देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनित गरेका थिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्यान्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको आरोप शेखर समूहको छ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भए पनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो। बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु गोविन्द पोखरेल, प्रतिमा गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपानेलगायत उपस्थित थिए।