काठमाडौं– चीनका विदेशमन्त्री वाङ यी आज शुक्रबार अपराह्न तीन बजे काठमाडौं आइपुग्दैछन्। वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यतालिका रहेकोमा दुई घण्टा अगाडि सरेको छ।
नयाँ दिल्लीबाट काठमाडौं आउन लागेका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काको टोलीले स्वागत गर्नेछ। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुग्नेछन् र केहीबेर आराम गरेर बालुवाटारस्थित चिनियाँ दूतावास पुगेर ब्रिफिङ लिनेछन्। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
भ्रमणको दोस्रो दिन शनिबार भने वाङ निकै व्यस्त रहनेछन्। बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ। त्यसपछि उनको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नेछ। त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधभानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।
शनिबार नै विदेशमन्त्री यी र प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम छ। पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको हो।
भ्रमणको दोस्रो दिन शनिबार भने वाङ निकै व्यस्त रहनेछन्। बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ।
काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्नेछन्। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यसपछि वाङ होटल द्वारिकाज जाने र त्यहीँबाट स्वदेश फर्कने कार्यतालिका छ।
वाङको सुरक्षामा नेपाल प्रहरीको विशेष टोली तैनाथ गरिएको छ। बिहीबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले चिनियाँ विदेशमन्त्री यीको सुरक्षामा विशेष टोली तैनाथ गर्न निर्देशन दिएको थियो। भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिनेछ।
अर्थपूर्ण भ्रमण
संसद्बाट एमसीसी सम्झौता अनुमोदन भएको तीन साता नपुग्दै हुन लागेको चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। वाङसँगै चीनको परराष्ट्र, ऊर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारीहरु पनि नेपाल आउन लागेकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको हो।
वाङ नेतृत्वको भ्रमण टोलीमा केही चिनियाँ पत्रकारहरु पनि सहभागी छन्। उनीहरुले चीनका सञ्चारमाध्यमबाट सम्प्रेषण गर्ने समाचारको दृष्टिकोणले पनि नेपाल र चीनको दीर्घकालिन सम्बन्धबारे सम्भावित दृश्य स्पष्ट हुने जानकारहरु बताउँछन्।
नेपालमा एमसीसी अनुमोदन नहोस् भन्ने चाहन्थ्यो चीन। संसद्मा एमसीसीको अनुमोदन रोक्न पनि चीनले खुब कसरत गरेको थियो। तर त्यो कसरत सफल भएन। विश्वकै शक्तिशाली राष्ट्र बन्न अमेरिका र चीनबीच चलिरहेको होडका कारण एमसीसीमा चीनले चासो देखाएको बताइन्छ। एमसीसीलाई विशुद्ध आर्थिक परियोजना दाबी गर्नेहरुले एमसीसीबारे चीनले अस्वाभाविक चासो देखाएको भन्दै आलोचना समेत गरेका थिए।
एमसीसी रोक्नका लागि चीनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरेर दबाब दिएको विवरणहरु पनि सार्वजनिक भएका थिए। अर्कोतिर एमसीसी उपाध्यक्ष फातिमा सुमार र अमेरिकी उपविदेशमन्त्री डोनाल्ड लुले नेपाल भ्रमण गरी शीर्ष नेताहरुलाई भेटेर चाँडै एमसीसी पास गर्न दबाब दिइरहेका थिए। अमेरिकाले एमसीसी अनुमोदन गर्ने अल्टिमेटमसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई पठाएको सार्वजनिक भएको थियो।
वाङ नेतृत्वको भ्रमण टोलीमा केही चिनियाँ पत्रकारहरु पनि सहभागी छन्। उनीहरुले चीनका सञ्चारमाध्यमबाट सम्प्रेषण गर्ने समाचारको दृष्टिकोणले पनि नेपाल र चीनको दीर्घकालिन सम्बन्धबारे सम्भावित दृश्य स्पष्ट हुने जानकारहरु बताउँछन्।
अर्कोतिर नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर घुमाउरो भाषामा एमसीसी अनुमोदन नगर्न संकेत गरेकी थिइन्।
वाङ यी नेपाल आउनुभन्दा अघि भारत पुगेका थिए। त्यहाँ उनले विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेको र चीन र भारतको सीमा नाकामा उत्पन्न समस्या न्यूनीकरणका उपायबारे छलफल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नेपाल भ्रमणका क्रममा पनि वाङले तीब्बतसँग जोडिएको सीमा नाकामा उत्पन्न समस्याहरुको समाधान गर्न प्रयास गर्ने अपेक्षा गरिएको छ।
यसअघि गत मंसिर २७ गते चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री छन चौले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग भिडिओ वार्ता गरेका थिए। वार्तामा पोखरेलले भनेका थिए, ‘एक चीन नीतिमा प्रतिबद्धता जनाउँदै हामी चीनविरुद्धका कुनै गठबन्धन, चीन–नेपाल सम्बन्ध तथा नेपालमा चिनियाँ स्वार्थलाई अवमूल्यन गर्ने क्रियाकलापको विपक्षमा रहन्छौं।’ त्यसको भोलिपल्टै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले ‘नेपाल भू–राजनीतिको चेपुवामा नपरोस्’ भन्ने आशयको विज्ञप्ति जारी गरेको थियो।
वाङलाई भेट्न नपाएकोमा वर्षमानको गुनासो
यसैबीच, माओवादी केन्द्रका नेता वर्षमान पुनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्न नपाएकोमा गुनासो गरेका छन्। वाङ काठमाडौं आइपुग्ने दिन नै पुन उपचारका लागि चीन प्रस्थान गरेकाले भेट असम्भव भएको हो। पत्नी ओनसरी घर्तीसहित उनी आज बिहान ९ बजे चीन प्रस्थान गरेका हुन्।
नेपाल आउन लागेका चिनियाँ विदेशमन्त्रीलाई भेट्ने आफ्नो इच्छा भए पनि फलोअप उपचारका कारण भेट्न नसकेको पुनले बताए। ‘सरकारकै निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन्। मलाई पनि भेट्न मन थियो, तर नहुने भयो,’ उनले भने।
जण्डिसबाट पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए। सुरुमा उनलाई गत असोज १३ गते भने थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पताल लगिएकोमा पछि चीन लगिएको हो। उपचारपछि उनी गत माघ १० गते स्वदेश फर्किएका थिए।