काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यी आज अपराह्न तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन्।
दक्षिण एसियाली देशहरुको साताव्यापी भ्रमणमा रहेका वाङ निर्धारित समयभन्दा दुई घण्टा अघि नै काठमाडौं आइपुग्न लागेका हुन्। यसअघि वाङको टोली साँझ ५ बजे आउने भनिएको थियो।
वाङलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले विमानस्थलमा स्वागत गर्नेछन्। आज साँझ वाङले नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन्।
वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्ने तय भएको छ। बिहान उनी शिवपुरीमा हाइकिङ जाने र त्यसपछि नेपालका समकक्षी डा. नारायण खड्कासँग भेटघाट गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
शनिबार दिउँसो उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने तय भएको छ। आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ उनी स्वदेश फर्किनेछन्।
सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन्।