काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन्। केन्द्रीय समितिको बैठक सुरु हुने तयारी भइरहेका बेला कार्यकर्ताहरुले ‘देउवा प्रवृत्ति अन्त्य गर’ भन्दै विरोध प्रदर्शन र नाराबाजी गरेका हुन्।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले विरोध गरेको हो। दुई दिनअघि सभापति देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनित गरेका थिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको म्यान्डेटअनुसार भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्दा परामर्श नगरेको र आफ्नो समूहलाई पेल्न खोजेको भन्दै शेखर कोइराला समूहले देशभरका तरुण विद्यार्थी नेताहरूलाई काठमाडौं बोलाउने निर्णय गरिसकेको छ।
बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकमा संस्थापन पक्षले पेलेर जान खोजेकोले समानान्तर समिति बनाएर भए पनि प्रतिवाद गर्नुपर्ने आवाज उठेको थियो। बैठकमा नेता कोइराला, केन्द्रीय सदस्यहरु गोविन्द पोखरेल, प्रतिमा गौतम, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, टेकराज पौडेल, दिनेश राई, डिल्लीराम सुवेदी, हिक्मत न्यौपानेलगायत उपस्थित थिए।