धनगढी- नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन्।
शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला कमिटीको निर्णयबमोजिम गठबन्धन हुने बताएका छन्।
भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकलेसमेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने उनले स्पष्ट पारे।
उनले अगामी निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा प्रतिस्पर्धा हुनेसमेत बताए।
भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशतभन्दा बढी पालिकामा जित्ने दाबी गरे।