काठमाडौं- एक साताको दक्षिण एसियाको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार बेलुका काठमाडौं उत्रिने भएका छन्। मार्च २१ मा पाकिस्तान पुगेका वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेर बेलुका नयाँ दिल्ली अवतरण गरेका हुन्।
उनले भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटर बेलुका काठमाडौं उत्रिने भएका हुन्। परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा वाङको नेतृत्वमा चीनका परराष्ट्र, ऊर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका वरिष्ठ अधिकारी तथा पत्रकार गरी झन्डै २५ जना सहभागी रहनेछन्।
चिनियाँ विदेशमन्त्री शुक्रबार बेलुका काठमाडौं उत्रिए पनि उनले द्विपक्षीय भेटघाट भने शनिबारदेखि सुरु गर्नेछन्। उनले शुक्रबार काठमाडौंस्थित दूतावासको ब्रिफिङ लिने बताइएको छ।
विदेशमन्त्री वाङ नेतृत्वको चिनियाँ टोली शुक्रबार, शनिबार र आइतबार तीन दिन नेपालमा रहने भएको छ। शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा. खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ।
काठमाडौंमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ।
सरकारले चिनियाँ विदेशमन्त्री वाङ यीसँग सम्झौता गर्नका लागि विभिन्न सहमतिका बुँदाहरू तयार गरेको छ। जसमा सीमा नाका खोल्नेदेखि बीआरआई कार्यान्वयन सम्झौताहरू रहेका छन्।
सम्भावित सम्झौता तथा समझदारी
- मुस्ताङस्थित कोरला सीमा नाका सुचारु भएको घोषणा गर्ने एक सहमति पत्रमा पनि हस्ताक्षर गर्ने
- तातोपानी र रसुवागढी नाकाको स्तरोन्नतिका लागि चीनले ती नाकाबाट आयात र निर्यात सहज बनाउने
- चीनको सहयोग रहेको भरतपुर क्यान्सर अस्पतालको स्तरोन्नति गर्ने र अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउने
- चीनतर्फ विकासे घाँस निर्यात गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने
- नेपालमा अड्केका विद्यार्थी चीन फर्काउने घोषणा गर्ने
- चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने
- चीनले बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी छाता सम्झौतालाई अन्तिम रूप दिने
- विदेशमन्त्रीको भ्रमणमा नेपाल र चीनबीच चिनियाँ राष्ट्रपतिको भ्रमणमा भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे विस्तृतमा छलफल हुने भएको छ।