काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न पुनः आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बिहीबार पर्साको वीरगञ्जमा चुनावलक्षित गरी आयोजना गरिएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पुरा हुन नसकेको उनले बताए। मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको पनि उनको भनाइ छ। अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाईएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिए।
‘मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै कारण ऐतिहासिक रुपमा बहिर्गमनमा परेको छ, मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको छ,' उनले भने, 'विभिन्न किसिमको मुद्दामा लगाईएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्नुपर्छ।’
त्यस्तै वरिष्ठ नेता राजेन्द्र महतोले अगामी दिनमा कुनैपनि पार्टीसँग निर्वाचनमा तालमेल हुनसक्ने बताए। उनले आवश्यकता अनुसार जिल्लाका नेताहरुले पनि चुनावी तालमेल गर्न सक्ने जानकारी दिएका थिए।
‘गठबन्धन नै गर्नुपर्छ भन्ने चाहिँ होइन, त्यस्तै परे कुनै पार्टीसँग निर्वाचनको समयमा गठबन्धन हुन सक्छ। हामीले गठबन्धनको राजनीतिकको लागि बढी जोड गरेका छैनौँ। भविष्यमा आवश्कता अनुसार गठबन्धनको सम्भावना रहेकाले कुनै पनि दलसँग गर्न सकिन्छ,’ उनले भने।
वरिष्ठ नेता महतोले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै नेता महतोले मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए। सत्ताका लागि मधेशी जनतालाई सहादत मात्र दिन लगाउने र मधेसवाद छैन भन्ने कुरा गलत रहेको बताए।
‘जनताले देखिरहेको छ, बुझिरहेको छ, मधेसी जनलाई श्री बनाउने, साधन बनाउने, अनि मधेसवाद छैन, मधेस छैन, यो चाहीँ सुहाएन। बेइमानी भयो। यो गर्नुहुँदैन। हिजोसम्म म मधेशवादी भनेर उफ्रि उफ्रि भाषण गर्ने, आज मधेशवाद थाहै छैन भन्ने। मधेशवाद थाहा छैन भन्नुको मतलव मधेश थाहा छैन भन्नु हो,’ उनले भने।
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताएका थिए। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ। दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचारप्रसार कार्यालय स्थापना गरेका छन्।