काठमाडौं– सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा नीति पारित गरेको हो।
‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ। अब निर्धारित स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुन्छ। निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न नीतिले सहयोग पुर्याउँछ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कामहरुबारे ब्रिफिङ गरेका थिए। ‘बैठकमा आगामी सुरक्षा चुनौती र ती चुनौतीको सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे सदस्यहरूले धारणा राख्नुभयो,’ प्रवक्ता पोखरेलले भने।
बैठकमा यही शुक्रबारबाट हुन लागेको चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा गृहमन्त्री खाँणले चिनियाँ विदेशमन्त्री वाङको भ्रमणका बेलामा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए। भ्रमण शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आफूहरूले कार्ययोजना बनाएको सुरक्षा प्रमुखहरूले बैठकमा बताएका थिए।
बैठकमा गृहसचिव, रक्षासचिव, नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुनाथ खरेललगायत सहभागी थिए।