सोमबार, भदौ १, २०८३

अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्नुस् : माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन्। बुधवार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन्। 

आफ्नो शक्ति बलियो भए मात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए। अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनुपर्ने उल्लेख गरे। 

‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरुसँगको तालमेलको कुनै अर्थ रहन्छ। अरुको सहारमा चुनाव जित्ने कुरा नसोच्नुहोस्। हाम्रो शक्तिको जगमा उभिएर नै अरुको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ। स्थिति कमजोर छ भने अनावश्यक रुपमा दावा गर्ने काम पनि गर्नु हुँदैन। फेस मूल्यांकन गर्नुपर्छ। लोकप्रिय व्यक्ति चाहिन्छ। पार्टीको नीतिहरु दरोसँग अवलम्वन गरेर अघि बढ्ने मान्छे चाहिन्छ।’

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे। उनले अध्यक्ष ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका थिए। अध्यक्ष नेपालले नेकपा एमाले अध्यक्ष ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने पनि बताए। केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप उनको छ।  

‘तपाईको र एमालेको पार्टीमा के फरक छ कमरेड? तपाईका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड? अरु पार्टी र तपाईको पार्टीमा के फरक छ र तपाईलाई जिताउने कमरेड? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे। त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब। विरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन्। हैरान। हो को? जवाफ दिँदा हैरान। सिधै ती त फटाहाहरु हुन् भनेर जवाफ दिने हो। जसमा कुनै सत्यता छैन। गलत सूचना हो। एक पैसा पनि सत्यता छैन। यस्ता कुराले गर्दा तपाईको हाम्रो दिमाग खराब भएको छ। त्यसैले झुटो कुराको पछाडि जाने होइन। बरु केपी ओलीका अपराधहरु के के हुन्? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ। भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनबिरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका। एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन्। उनले जे पनि भनिदिन सक्छन्।’

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए। उनले आफूले त्यसको बिरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताएका थिए। अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको उल्लेख गरे। 

 ‘एमसीसीको कुरा गर्ने हो भने इण्डोप्यासिफिकको अंग हुने कुरा ल्याउने को हो? केपी ओली, उनको को मन्त्री प्रदीप ज्ञवाली, कुन मिति हेर्नुहोस्। हामीले डकुमेण्ट दिएका छौँ। त्यसको बिरोध गर्ने को? हामी । बिरोध गरिसकेपछि अमेरिकाले हिजो अंग भनेको थियो अहिले काट्यो। त्यही पनि केपी ओलीको कुरा ठूलो । जनताको बहुदलीय जनवाद व्यक्तिवादको सिद्धान्त हो ? निरंकुशताको सिद्धान्त हो? एक व्यक्तिको आधिपत्यको सिद्धान्त हो? होइन यो कमिटी प्रणाली हो। सामुहिकताको सिद्धान्त हो,' अध्यक्ष नेपालले भने, 'लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसातीकरण हो । मतका लागि जनताको बहुदलीय जनवाद भन्ने काममा ठिक व्यक्तिवादी अहंकार र अधिनायकवाद लाँद्ने, यो चरित्र कम्युनिष्ट चरित्रसँग मेल खाँदैन । त्यसैले केपी ओलीको विचारमा क्रान्तिकारिता छैन । सिद्धान्तप्रति निष्ठा, सिद्धान्त छैन । त्यसैले उनको प्रवृति दक्षिणपन्थी अवसरवाद हो।’

प्रकाशित: Mar 23, 2022| 20:17 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...